सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी : सचिव रेग्मी
वि.सं.२०७९ चैत २४ शुक्रवार १४:१५
shares

काठमाडौं, २४ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनको दोस्रो दिन कार्यपत्र प्र्रस्तुत गर्दै रेग्मीले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएको बताएका हुन् ।
मानव विकास सूचांकमा सुधार ल्याउन पनि सहकारीले उल्लेख्य योगदान दिएको उनको भनाइ थियो । ‘सहकारी क्षेत्रले नेतृत्व विकासमा समेत टेवा पुर्याएको छ । स्वरोजगार, उद्यमशीलतामा समेत विशेष योगदान पुगेको छ’, उनले भने । सहकारीको माध्ययबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन पनि सहकारीले भूमिका खेलेको उनको भनाइ थियो । अर्थतन्त्रमा सहकारी बलियो खम्बा भएको भन्दै सचिव रेग्मीले सुखी नेपाल सम्मृद्ध नेपाल निर्माणमा महत्वपूर्ण टेवा पुगेको बताए ।
दिगो विकास लक्ष्य प्राप्ति र सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारी रहेको सचिव रेग्मीको भनाइ थियो । ‘अहिले सहकारी समस्यामा छन् । सबै मिलेर समाधान खोजौं’, सचिव रेग्मीले भने, ‘केही सहकारीमा समस्या आउँदा सिंगो सहकारी बदनामी बन्न पुगेको र प्रश्चन चिन्ह उठेको छ । सुरक्षित अवतरणका लागि सबै लागौं । डुंगा पल्टियो भने हामी सबै डुब्छौं,’ उनले भने । आन्तरिक नियमन प्रणाली बलियो बनाउन सके सहकारीमा समस्या नआउने सचिव रेग्मीको भनाइ छ । ‘सहकारीमा माथिबाटै सफाइ गर्नु आवश्यक छ’, उनले भने, ‘यसो हुन सके सुशासनमा प्रवद्र्धन पुग्छ ।’
कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण गठन गर्न सरकार सकारात्मक भएको समेत बताए । ‘सहकारीका समस्या समाधान गर्न मन्त्रालय सहजिकरण गर्न तयार छ’ उनले भने । राम्रा सहकारी नराम्रा सहकारीबाट थिचिएको उनले बताए ।



















