विदेशमा मृत्यु भएका नागरिककाे बीमा रकम भुक्तानीमा पनि ठगी
वैदेशिक रोजगार बोर्डका सुब्बा सहित ७ जना पक्राउ
वि.सं.२०७९ चैत २५ शनिवार ०८:००
shares

काठमाडौं, २४ चैत । वैदेशिक रोजगारीको शिलसिलामा विदेशमा ज्यान गुमाएका परिवारलाई बीमा रकम दिलाइदिन्छु भन्दै ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी समेत रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारी सहित ७ जनालाई पक्राउ गरेको जनाएको छ । अधिकारी सहित काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १२ का रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी ८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रविन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले रहेका छन् ।
उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात समेत बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।



















