Dhulikhel Eco Banner new

८ महिनामा ८० हजारले लिए एनओसी

5.81K
shares

काठमाडौं, २४ चैत । पछिल्लो समय अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुुसार चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ८० हजार विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् ।

शाखाकोले साउनदेखि चैतको २३ गतेसम्म ८० हजार विद्यार्थीका लागि विदेशमा अध्ययन गर्न जाने अनुमतिपत्र (एनओसी) जारी गरेको छ । उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ ।

बिहीबारमात्रै छ सय नौ अनलाइन आवेदन परेकामा पाँच सय २९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले जानकारी दिए । उनका अनुसार आवेदन स्वीकृत भएका पाँच सय आवेदकले आज एनओसी पत्र पाउनेछन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार विसं २०७८ को वैशाखमा एक हजार छ सय ९६, जेठमा चार सय ५६, असारमा तीन हजार एक सय नौ, साउनमा पाँच हजार तीन सय ४१, भदौमा पाँच हजार आठ सय ६०, असोजमा चार हजार नौ सय ६३, कात्तिकमा तीन हजार सात सय ५७, मङ्सिरमा पाँच हजार छ सय ९५, पुसमा सात हजार ८५, माघमा नौ हजार पाँच सय १३, फागुनमा १३ हजार नौ सय ७२ र चैतमा १६ हजार तीन सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए ।

यस वर्षको वैशाखमा १५ हजार सात सय ७१ र जेठमा १४ हजार छ सय १३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका छन् । अध्ययनका लागि अष्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या बढी छ । हाल औसतमा दैनिक ६०० जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ ।