राज्यले सहकारीलाई सहुलियत ऋण दिनुपर्छ : कार्यकारी निर्देशक खरेल
वि.सं.२०७९ चैत २४ शुक्रवार १७:५१
shares

काठमाडौं, २४ चैत । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक रामशरण खरेलले आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै खरेलले १ अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी २०० भइसकेको भन्दै विकास बैंक र लघुवित्तभन्दा सहकारी ठूलो भइसकेको बताएका हुन् ।
‘सहकारीको सुधारमा हाम्रो चासो छ । बैंकको ब्याज धेरै भएमा सहकारीमा गएर बस्ने गर्छ । त्यो तरिकाले स्वीम भइरहेको छ । सहकारीलाई ध्यान दिइरहेका हुन्छौं’ उनले भने । बैंकमा ब्याजदर बढी भएपछि सहकारीबाट झिकेर बैंकमा राखेको हुन सक्ने उनको भनाइ थियो । तत्काल रिटन नदिने घरजग्गा र सेयरको मूल्य घट्दा पनि सहकारीमा समस्या आएको उनले बताए ।
‘तरलता (तत्काल नगदमा परिणत गर्ने) नभई लगानीयोग्य साधानका रुपमा बुझ्ने गरिन्छ’,उनले भने ‘भनेको समयमा निक्षेप नआउने र कर्जा असुली नहुने समस्या आउने गरेको छ ।’ राज्यले सहकारीलाई सहुलियत कर्जा दिनु पर्ने उनको भनाइ छ । ‘सहकारी स्वनियमन नहुँदा मात्रै समस्या आउने होइन, राज्यले पनि सहयोग गर्नुपर्छ,’ उनले भने । तरलतामा सहयोग गर्ने निकाय नहुँदा जतिबेला पनि तरलता अभाव हुन सक्ने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाका लागि एकद्धार प्रणाली लागू भएकाले समस्या नआउने गरेको भन्दै कार्यकारी निर्देशक खरेलले सहकारीलाई पनि यस्तै व्यवस्था आवश्यक भएकोे बताए । खराब कर्जा ५ प्रतिशत भन्दा कम हुन नहुने व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको उनले बताए । सहकारीमा डाटा नहुँदा वास्तविकत तथ्याङ्क आउन नसकेको उनको भनाइ छ ।
स्थिरीकरण कोषमा ११ करोड जम्मा भए पनि त्यो प्रयाप्त नभएकाले कार्यान्वयनमा समस्या भएको बताए । बैंक तथा वितीय संस्थाले जस्तै सहकारीले अन्तर सहकारी कारोवार गर्न नपाउनु समस्या भएको उनले बताए । ‘सहकारीले मापदण्ड पूरा गर्नुपर्ने, तरलता सहयोग गर्ने ठाउँ चाहिने र वैधानिक रुपमा अर्को सहकारीबाट सापटी लिन पाउने व्यवस्था हुनुपर्छ’ उनले भने ।
३ वर्षदेखि संख्या तथा कारोबारको तथ्यांक लिन नसक्नु दुःखद भएको उनको भनाई छ । ‘सहकारीलाई जतिसुकै खम्बेका कुरा गरे पनि विवरण यकिन गर्न सक्नुपर्छ’ उनले भने । सहकारीमा स्वनियमनमा नपुग्ने भन्दै सहकारी बैंकको क्षमता बढाउनुपर्ने बताए । राष्ट्रिय सहकारी विकास बोर्डलाई सुपरिवेक्षणको जिम्मेवारी दिने अथवा छुट्टै सेकेन्ड टायर इन्स्टिचीयुसन गठन गर्न आवश्यक भइसकेको उनले बताए । ‘राम्रा संस्था मात्रै स्थिरीकरणमा जाने नभई धेरै संस्थाले सेवा पाउने गरी पुर्नसंरचना गर्नुपर्छ’ उनले भने ।
सहकारीले बचत र असुलीको भरपर्दो माध्यम बनाउन नसके वित्तीय जोखिम बढ्ने उनको भनाइ छ । ‘सहकारीमा सिआरआर (कर्जा निक्षेप अनुपात) अनिवार्य व्यवस्था गर्नुपर्छ’उनले भने । सहकारीलाई ऋणपत्रमा पनि लगानी गर्ने व्यवस्था गर्न आवश्यक भइसकेको उनले बताए । स्वनियमन, नियमनकारी निकाय कार्यान्वयन नहुँदा सहकारीमा समस्या आएको उनको भनाइ छ ।
नेकपा एमाले सहकारी विभागका कमल चौलागाईले नेफ्स्कून र बैंकमा लगानीयोग्य पैसा नभएको र राज्यले सहुलियत ऋण नदिदाँ सहकारीलाई तरलता व्यवस्थापनमा समस्या भएको बताए । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी निर्देशक बद्रीकुमार गुरागाईले सहकारीमा तरलता संकट र खराब कर्जा बढ्न नदिन शिक्षामा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
सीप, ज्ञान, शिक्षामा नभई आफ्नै ढंगले काम गर्दा तरलता अभाव आएको उनको भनाइ छ । ‘अविश्वासका कारण निक्षेप झिकिएको छ,’ उनले भने,‘ कोभिडका समयमा सहकारीमा राम्रै पैसा आयो तर त्यसको होल्डिङ पिरेड हिसाब नगरी लगानी गरेकाले तरलतामा समस्या आयो ।’ सहकारी अभिभावक विहिन हुँदा पनि समस्यामा फसेको उनले बताए । बैंक तथा वित्तीय संस्थामा समस्या आउँदा राष्ट्र बैंकले बैंक तथा वितीय संस्थालाई नीतिगत रुपमा गत भदौमा नै व्यवस्था गरेको भए पनि सहकारीमा भने त्यो विषयमा कसैले नबोलको उनले बताए ।



















