आगलागीबाट १२ लाख भन्दा बढीको क्षति
वि.सं.२०८० वैशाख ४ सोमवार १८:३०
shares

काठमाडौं, ४ वैशाख । देशका विभिन्न स्थानमा भएको आगलागीबाट १२ लाख भन्दा बढी क्षति पुगेको छ । दाङ, लम्जुङमा भएको आगलागीबाट सो बराबरको क्षति पुगेको हो ।
दाङको दंगीशरण गाउँपालिका वडा नमबर एकको कोट सामुदायिक वनमा लागेको आगो बस्ती पस्दा ४२ वर्षीय डिल्ली डाँगीको कच्ची घर पूर्ण रुपमा जलेको छ । आगलागीका कारण ५ लाख बराबरको सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । डाँगीको घरमा रहेको २५ वटा माहुरीको घारमा पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दाङकै बंगलाचुली गाउँपालिका वडा नम्बर ५ रोकिनेडाँडाका भानु थापाको घरमा आगलागी हुँदा ७ लाख ५० हजार रुपैयाँको क्षति भएको छ । थापाको घरमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
यता, लमजुङको बेशीशहर नगरपालिका वडा नम्बर ५ ज्यारखानामा विद्युत सर्ट भई आगो लाग्दा होम बहादुर गुरुङको कच्ची घरमा पूर्ण रुपमा क्षती पुगेको छ । आगलागीमा अन्नपात, भाँडा, लत्ताकपडा लगायतका सबै सामग्री जलेका छन् ।



















