महालक्ष्मी विकास बैंकको ऋणपत्रमा डेढ गुणा बढी आवेदन
वि.सं.२०८० वैशाख ५ मंगलवार १८:०४
shares

काठमाडौं, ५ वैशाख । महालक्ष्मी विकास बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा डेढ गुणा बढी आवेदन परेको छ । बैंकले चैत २९ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा वैशाख ४ गतेसम्म मागभन्दा डेढ गुणा बढी आवेदन परेको हो ।
बैंकले “११ प्रतिशत महालक्ष्मी डिवेन्चर –२०८९” नामको ऋणपत्र जारी गरेको थियो । १० बर्ष अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको “११% महालक्ष्मी डिवेन्चर –२०७९” प्रति ऋणपत्र १ हजार रुपैँया अंकित मुल्यका दश लाख कित्ता निष्काशन गरिएको थियो । १ अर्ब रुपैंया बराबरको क्रृणपत्रमध्ये ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र ४० प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।
ऋणपत्र खरिद गर्न इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा वैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात वैशाख ४ गते नै बिक्री सकिएको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको थियो ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।



















