प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान बीमा समितिको सहमति
वि.सं.२०७९ जेठ ४ बुधवार १०:५९
shares

काठमाडौं, ४ जेठ । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन बीमा समितिले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
समितिले आज मंगलबार गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम मर्जरमा जान सहमति प्रदान गरेको हो ।
यस्तै निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत समितिले निर्देशन दिइएको छ ।
तीन वटा कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
तीन कम्पनीबीच बैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
यस अघि समितिले बैशाख १३ गते हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई पनि मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।















