Dhulikhel Eco Banner new

सिटि होटलको आईपीओ खुल्यो, २ हजार कित्तासम्म आवेदन दिन सकिने

5.14K
shares

काठमाडौं, २५ वैशाख । सिटि होटल लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरुलाई आवेदन माग गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि आवेदन खुला गरेको हो ।

होटलले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सार्वजनिक निष्काशनका लागि छुट्याएकोमध्ये पहिलो चरणमा, १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकिएको छ । त्यस्तै ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

होटलको आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।