हिमाली भेगमा भन्दा काठमाडौंमा मूल्य वृद्धि उच्च
वि.सं.२०८० वैशाख २७ बुधवार १७:५३
shares

काटमाडौं, २७ वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालको मूल्य वृद्धि ७ प्रतिशतभन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार नेपालको वार्षिक मूल्य वृद्धि ७.७६ प्रतिशत रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा वार्षिक मूल्य वृद्धिदर ७.२८ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ८.४२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत स्वास्थ्य उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत मूल्य वृद्धि रहेको छ ।



















