Dhulikhel Eco Banner new

बजार र वित्तीय संस्थाको सुझावका आधारमा मौद्रिक नीतिमा परिवर्तन गरिएको हो : गर्भनर अधिकारी

4.59K
shares

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो सयम आएका सुझाबका आधारमा मौद्रिक नीतिमा परिवर्तन गरिएको बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले बजार र बैंक वित्तीय संस्थाले दिएको सुझावका आधारमा कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा गर्भनर अधिकारीले राष्ट्र बैंकको नीतिका कारण ब्याजदर घट्ने र आर्थिक गतिविधि बढ्ने बताएका छन् । ‘राष्ट्र बैंकले लिएको लचिलो नीतिले ब्याजदर थप घट्ने र आर्थिक गतिविधि बढ्ने हाम्रो अपेक्षा गरिएको छ । आगामी दिनमा हामीले जारी गर्ने सर्कुलरले सुविधाको विषय थप प्रस्ट पार्नेछ,’ उनले भने ।

राष्ट्र बैंकले आर्थिक स्थायित्वलाई ध्यान दिँदै मौद्रिक नीतिलाई लचिलो बनाएको उनको दाबी थियो । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले अर्थतन्त्रका तथ्यांकले संरचनात्मक सुधार नगरी अर्थतन्त्रका समस्या समाधान नहुने बताए । मौद्रिक नीतिको समीक्षाले बजारका धेरै माग पूरा गरेको र आर्थिक स्थायित्व कायम गर्न ठूलो टेवा पु¥याउने दाबी गरे ।

पत्रकार सम्मेलनमा राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले कोरोना महामारीपछि करिब १५ लाख युवा देशबाहिर जाँदा बजारमा माग घटेको बताए । चालू आर्थिक वर्षमा १६ खर्ब ५० अर्ब रुपैयाँको आयात हुन सक्ने र आगामी दिनमा महँगी पनि कम हुँदै जाने उनको भनाइ थियो ।