Dhulikhel Eco Banner new

करिब २७ प्रतिशतले घट्यो हिमालयन डिष्टिलरी नाफा

5.01K
shares

काठमाडौं, ३० वैशाख । हिमालयन डिष्टिलरी लिमिटेडको नाफा ९ महिनाको अवधिमा करिब २७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार २६.८५ प्रतिशतले नाफा घटेको हो ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा ७८ करोड ८३ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब १२ करोड ९७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ८६ करोड २२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७.५५ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी १७.३० प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा २४.९९ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३७ रुपैयाँ ५७ पैसा घटेर ३१ रुपैयाँ ६५ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६३.५१ गुणा रहेको छ ।