साइकल संस्कृतिमार्फत मुलुकको पर्यटन प्रवद्र्धनमा जुटौं : उप–सभामुख राना
वि.सं.२०८० जेठ २० शनिवार ११:५२
shares

काठमाडौं, २० जेठ । उपसभामुख इन्दिरा राना मगरले स्वास्थ रहन साइकल संस्कृतिको विकासलाई बढावा दिनु पर्ने बताएकी छिन् । यो संस्कृतिले मुलुकको पर्यटन प्रवद्र्धन हुने उनको दाबी छ ।
पर्यावरण स्वच्छ बनाउने उद्धेश्यका साथ मनाइएको विश्व साइकल दिवसमा रानाले साइकल यात्राबाटै पर्यावरण प्रवद्र्धन र देशको पर्यटन विकास हुने बताइन् । उनले भनिन्, ‘हाम्रो जस्तो भूगोलमा सडक नबने पनि साइकल लिएर डाँडाकाँडा जान सक्छौं । देशको कुनाकुना मात्र होइन, शे–फोक्सुन्डो र सगरमाथको वेस क्याम्पसम्म पनि साइकल लिएरै जान सकिन्छ । यसमा युवा शक्ति लाग्न आवश्यक छ ।’
उनले जलवायु परिवर्तनका कारण सुन्दर हिमाल काला पत्थर बन्न थालेको भन्दै चिन्ता प्रकट गरिन् । साथै, बढ्दो जलवायु परिवर्तन न्युनिकरण गर्न पेट्रोलियम पदार्थको खपत घटाउनु पर्ने र यसका लागि साइकल प्रयोगलाई बढावा दिनु पर्ने उनको भनाई थियो । साइकल प्रयोगले आम नागरिकलाई शारिरीक तन्दुरुस्त बनाउने र आर्थिक रुपमा समेत सहज हुने उनको धारणा थियो ।
र्याली दरबारमार्गबाट सुरु भएको थियो भने, सुन्धारा, त्रिपुरेश्वर, जलम, दरबारमार्ग, सिटी सेन्टर हुँदै सानो गौचरणमा पुगेको टुंगिएको थियो । र्याली साङ्ग्रीला डेभलपमेन्ट बैंङ्क र साइकल संस्कृति अभियान सञ्जालले संयुक्त रुपमा आयोजना गरेको थियो ।



















