Dhulikhel Eco Banner new

सञ्चारगृहमा प्रहरी परिचालन गरिनु निरंकुशताको पराकाष्ठा : अध्यक्ष गिरी सञ्चारगृहमा प्रहरी परिचालन गरिनु निरंकुशताको पराकाष्ठा : अध्यक्ष गिरी

समाचार लेखेकै कारण पत्रकारमाथि धरपकड गरिएको भन्दै प्रेस सेन्टर नेपालको आपत्ति, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग

1.16K
shares

काठमाडौं । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले समाचार लेखेकै कारण पत्रकारमाथि पक्राउ, धरपकड तथा सञ्चारगृहमा प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

गिरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र नयाँ पत्रिकाका नवराज मैनालीमाथि प्रहरीले गरेको कारबाही तथा खोजीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको विषयमा समाचार प्रकाशित गरेपछि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन्। त्यस्तै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएका इनम सापकोटाको मोबाइलमा भेटिएका सम्पर्क विवरण सार्वजनिक गरेको विषयमा मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई अनामनगरबाट पक्राउ गरिएको छ।

नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पनि न्यायालयसम्बन्धी समाचार लेखेको विषयमा प्रहरीले खोजी गरिरहेको गिरीले उल्लेख गरेका छन्।

यसैगरी, नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मात्रिका पौडेललाई साइबर ब्यूरोमा बोलाइएको घटनाप्रति पनि उनले आपत्ति जनाएका छन्।

अध्यक्ष गिरीले समाचार लेखेकै कारण पत्रकारमाथि धरपकड गर्नु र सञ्चारगृहमा प्रहरी परिचालन गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।

उनले आलोचना सहन नसक्ने सरकारको यस्तो शैली लोकतान्त्रिक मूल्य र मान्यतामाथिकै उपहास भएको टिप्पणी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका छन्।

प्रेस सेन्टर नेपालका अध्यक्ष गिरीले पत्रकारले समाचार लेखेकै आधारमा पक्राउ र प्रहरी अनुसन्धानको सामना गर्नुपर्ने अवस्था प्रेस स्वतन्त्रताका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्।