Dhulikhel Eco Banner new

एमालेले सदनलाई बन्धक बनाएकोमा अर्थमन्त्री महतकाे आपत्ति 

4.43K
shares

काठमाडौं, ३२ साउन। नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन् ।

जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो । धेरै ऐनहरु बनाउनु छ । संघीय कानून नबनेर समस्या आइरहेको छ । तर एमालेले सदनमा छलफल नै हुन दिएन ।’

एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो । सरकार बाहिर बस्नै नसक्ने मनस्थितिमा पुग्नु ठिक होइन । जनताले म्यान्डेड अनुसार सरकार चल्न दिनुपर्छ ।’

कांग्रेस प्रतिपक्षमा रहँदा कहिल्यै बहाना बनाएर सदन अवरुद्ध नगरेको दाबी गर्दै मन्त्री महतले सदनमै छलफल र बहस गरेर कुनै पनि समस्या समाधान गर्न सकिने कुरामा विश्वास गर्नुपर्ने बताए ।

उनले कोशी–मरिन डाइभर्सन गरेर मधेशलाई समृद्ध गर्नेतर्फ लागेको बताए । उनले तराई मधेशका हरेक क्षेत्रमा पानी पुग्यो भने एकसय गुणा उत्पादन बढ्ने विश्वास व्यक्त गरे । उनले भने– मधेशका जनताको समस्यामा सरकार गम्भीर छ ।