Dhulikhel Eco Banner new

सुन तस्करीका घटनाले व्यवसायी बद्नाम भएका छन् : मणिकरत्न शाक्य

7.48K
shares

सुन चाँदी व्यवसायीले दुई लाख बढीलाई रोजगारी उपलब्ध गराए पनि सरकारले एउटा निर्देशिका नबनाइदिँदा सुन चाँदी व्यवसायीको हैषियत सून्य भए जस्तो लाग्छ सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई । नेपालको जिडिपीमा पनि सुन चाँदी व्यवसायको हिस्सा छ तर, सरकारी रेकर्डमा सून्य देखिन्छ । सुन चाँदीको लगानीलाई सम्पत्ति सञ्चितीको रुपमा अर्थ्याउने शाक्य कच्चा पदार्थ आयतमा पनि सरकारले कडाई गरेकोमा दुःखी छन् । उनैसंग गरिएको गफगाफ :

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुँदाका दुख कस्तो छ ?
मुलुकभर रहेका व्यवसायी, यस क्षेत्रका कालिगढलगायत सुन चाँदी व्यवसायसंग जोडिएका सबैका लागि काम गर्नु पर्ने छ । विभिन्न कार्यक्रम गर्दै यस क्षेत्रको विकास र विस्तार कसरी गर्ने भनेर अगाडी बढी रहेका छौं । व्यवसायसंग जोडिएका व्यवसायीका काम गर्न पाउनुलाई मैले अवसरको रुपमा लिएको छु । दुःखको अनुभुति गरेको छैन ।

मैले दुःख यस अर्थमा भनेको । अध्यक्ष भैसकेपछि आफ्नो व्यापार व्यवसाय थाँती राखेर संस्थाका लागि दौडधुप गर्नुपर्छ । संघ संस्थामा लागेपछि तपाईको व्यापार व्यवसायमा असर गरेको छैन ?

हामीले संस्थाको वार्षिक कार्यक्रम बनाएका छौं । यस हिसाबमा म एक्लै दैडिन पर्दैन । टिममा साथीहरु हुनुहुन्छ । कार्यसमितिका सदस्यहरु सबैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गरेका हुन्छन् । त्यसकारण त्यस्तो समस्या छैन ।

कतिपय संघसंस्थामा अध्यक्ष महासचिवले काम गर्दा दुख भएको कुरा गर्छन् । यस अर्थमा तपाईहरुलाई सहज छ हो ?
सुन चाँदीको व्यवसाय भनेको एकदमै संवेदनशिल व्यवसाय हो । धेरै लगानी गरेर व्यवसाय गर्नु पर्ने बाध्यता छ । सुन चाँही संसारकै महंगो धातु भएकाले पनि यसको सुरक्षादेखी लिएर काम गर्ने वातावरणमा धेरै कुरा ध्यान दिनु पर्छ । मुलुकभरका व्यवसायीले महासंघलाई आशाको किरणको रुपमा हेरिरहेका छन् । उहाँहरुको आशा भरोसलाई मर्न दिनु हुन्न । हामीले यस क्षेत्रको विकास गर्छौ भनेर आएपछि उपभोक्ता, व्यवसायी, सरकार, कालिगढ सबैलाई समेटेर अगाडी जानु पर्छ । हामीले कुनै विगार गरेका छैनौं त्यसकारण राम्रो काम गर्दा सबैले सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।

व्यवसायीका पनि समस्या त होला नि । समस्या चाँही के छ ?
मुख्य समस्या भनेको निती नियम केही पनि छैन । अहिले पनि परम्परागत रुपमा व्यवसाय चलिरहेको छ । सरकारी निकायले निश्चित ऐन, कानुन, बनाएर यो कानुन अनुसार काम गर्नुस् भनेको छैन । ऐन नहुँदा बजार अन्यौलग्रष्त अवस्थामा चलेको छ । चाँडो भन्दा चाँडो निति नियम बनोस भनिरहेका छौं । अर्को समस्या भनेको कच्चा पदार्थको उपलब्धता । दिनको १० केजी सुन आइरहेको थियो । एक साता अघि मात्रै २० केजी ल्याउने निर्णय भयो । आर्थिक मन्दी र सुनको भाउ पनि अत्याधिक महंगो भएकाले अहिले धेरै नेपाली सुन किन्न सक्ने अवस्थामा छैन । अहिले त दैनिक २० केजीले धान्ला सामान्य अवस्थामा २० केजी सुनले धान्दैन । त्यहि अभाव हुँदा तस्करी लगायतका घटना हुन्छन् । यस विषयमा हामीले सरकारलाई घच्घच्याइरहेका छौं । सरकारको पनि बाध्यता होला । हाम्रो कुरा सुनिरहेको छैन । तैपनि हामी आशावादी छौं । कच्चा पदार्थको अभाव बिना स्थानिय स्तरमा पनि प्रयाप्त रोजगारी दिन सक्दैनौं । अन्तराष्ट्र्रिय बजारमा पनि समस्या पर्छ ।

तपाई अध्यक्ष भएपनि सरकारका प्रतिनिधी कहाँ निर्देशिका चाहियो भन्दै जानु भएको थियो । अहिले के हुँदैछ ?
प्रकृया अघि बढेको छ । निर्देशिका जारी गर्ने सवालमा नजिक नजिक पुगेका छौं । २०७१ सालमा निर्देशिका बनेको थियो त्यो प्रकाशित भएन । त्यसपछि २०७६ सालमा पनि हाम्रो निवर्तमान अध्यक्षले निर्देशिका जारी गर्न निकै पहल गर्नु भयो तर, निर्देशिका जारी भएन । मैले आफ्नो गच्छे अनुसार लागेको छु । यसपाली म एक्लै छैन । हस्तकला महासंघ, रत्न तथा आभुषण महासंघ, सुन चाँदी व्यवसायी महासंघ, तीनवटै महासंघ बसेर संयुक्त रुपमा निति नियम बनाउनका लागि सरकारसंग लबिङ गरिरहेका छौं ।

निर्देशिका बनाउन पनि सरकारले किन जाँगर लगाउदैन र घच्घच्याइरहनु पर्छ । निर्देशिकाले सरकारलाई के कुरामा बेफाइदा हुन्छ ?
निर्देशिका बनेपछि सरकारलाई बेफाइदा हैन फाइदा हुन्छ । तर, कर्मचारीतन्त्रमा एक खालको त्रास छ । मैले यो निर्णय गरें भने भोली अख्तियार लाग्ने हो कि भन्ने त्रासमा छन् । यदि त्यस्तो नहुँदो हो त यस्तो निती बनाउनका लागि ढिला सुस्ती गर्नु पर्ने कारण छैन । निर्देशिका भयो भने राजस्व, रोजगारी सबै कुरामा वृद्धि हुन्छ ।

अर्थतन्त्र सहज भएको बेलामा दैनिक कति किलो सुन खपत हुन्छ ?
अर्थतन्त्र सहज भएको बेला सिजनको बेलामा दैनिक ४० देखि ४५ किलो सुन खपत हुन्छ । अन्य समयमा २० किलो चाहिन्छ कम्तिमा ।

तपाई भन्नु हुन्छ सिजनको बेला दैनिक ४५ किलोसम्म सुन खपत हुन्छ । सरकारले २० किलो तोकेको छ । किन यसो गर्छ सरकार ?
मलाई लाग्छ सरकार अर्थतन्त्रलाई नियन्त्रिण प्रणालीमा राख्ने सोचमा छ । भन्न चाँही हामी खुल्ला अर्थतन्त्र भन्छौं तर, सरकारको व्यवहार हेर्दा नियन्त्रित निती हो कि जस्तो लाग्छ ।

अभावकै कारण हो त सुनमा कालो बजारी भएको हो ?
अभाव भएपछि कालोबजारी, तस्करी धेरै कुरा हुन्छ । त्यसले व्यवसायीको पनि हित हुँदैन । धेरै बिकृति आउँछ । उपभोक्ताको पनि हित हुँदैन । सरकारको त हित हुने कुरै भएन । राजस्व गुम्छ । अहिले एक किलो सुन आयात गर्दा साढे १४ लाख राजस्व सरकारले पाउछ ।

सुन तस्करीको जुन घटनाक्रम सार्वजनिक भैरहेको छ यसले के संकेत गर्छ ?
यो त एकदमै डरालाग्दो कुरा हो । शान्ति क्षेत्र भनिएको मुलुक चाँही तस्करको देश होला भन्ने डर छ । नेपालमा जो वर्षौदेखी सुनको कारोबार गर्दै आएको छ उसले १०० ग्राम सुन किन्नका लागि पनि लाइन बस्नु पर्छ । तस्करीमा संलग्नले एकै दिन किलोका किलो सुन किन्न सक्छन्, यो भनेको मुलुकका लागि निकै भयाबह स्थिती हो ।

यस्ता घटनाले सुनचाँदी व्यवसायी माथी पनि अभियोग त लागेको छ नि ?
सुन तस्करीका घटनाले आम सर्वसाधारणमा कस्तो बुझाई छ भने सिंगै बजार भरि तस्करीको सुन छ भनेर सोच्न थालिसकेका छन् । बजार नै अपराधीहरुले चलाए जस्तो देखिएको छ । सुन चाँदी व्यवसायी बद्नाम भएका छन् । तर, तस्करीमा व्यवसायीको हात छैन ।

नेपालमा सुनका असली ग्राहक चाँही को हुन् ?
अहिले नेपालीहरु नै ५० देखी ६० लाख विदेशमा छन् । जो विदेशमा छन् उनीहरुलाई नेपालप्रतिको झन् बढी माया लाग्दो रहेछ । नेपालको बजारलाई हेर्ने हो भने गरगहनाको सबै भन्दा धेरै माग विदेशमा बस्ने नेपालीहरुबाट आइरहेको छ । विदेशमा बस्नेहरुले न्वारन, पास्नी, विवाह सबैमा नेपाली गरहना नै प्रयोग गर्छन् । हाम्रा व्यवसायीले गहना बनाएर विदेशमा पठाइरहेका छौं तर, दुखको कुरा कति सुन विदेश गयो हामीसंग रेकर्ड छैन । यदि निर्देशिका बनाउने हो भने हामीले कति आयात ग¥यौं कति निर्यात ग¥यौ देखाउन पनि सक्छौं । अर्को दुःखको कुरा हाम्रो जिडीपीमा सुनचाँदी कारोबारको हिस्सा कति छ देखिदै देखिदैन । हामीले त्यही कारण केही समय अघि रिसर्च पनि गरेका थियौं । हाम्रो राजस्वमा कति योगदान छ हामीले उल्लेख गरेका छौं र त्यही अनुरुप सरकारलाई सुझाब पनि दिएका छौं ।

उपभोक्ताले एउटा गुनासो गर्छन् नि महंगो भएको बेला बेच्न गा¥हो सस्तो भएको बेला किन्न ?
बेच्न नपाउने भन्ने त हुँदै हुन्न । मज्जाले बिक्री हुन्छ । भाउ घटेको बेला किन्न नपाएको कुरा चाँही हुन सक्छ । डिमान्ड अनुरुप सप्लाई नहुँदा समस्या परेको छ ।

सुनजस्तै देखिने नक्कली गहनाका पसल पनि प्रसस्तै खुलेको छ नि यसले व्यापारमा असर गरेको छ कि ?
जो मान्छे सुन किन्न चाहन्छ । उ नक्कली गहना भएतीर जाँदै जाँदैन । जसले एक चोटी लगाएर फाल्छ उ त्यतै जान्छ । सुन भनेको गहना मात्रै हैन स्थायी सम्पत्ति पनि हो । पुस्तासंगै हस्तान्तरण हुँदै आउछ । सुन चाँदीको सञ्चय गर्नु भनेको सम्पत्ति संरक्षण गर्नु पनि हो । आर्थिक समृद्धिको बाहक नै सुन हो भनेर परम्परादेखी चलिआएको छ ।

व्यवसायीका समस्या ?
निती छैन । ऐन छैन । सब भन्दा ठूलो समस्या यहि हो । तर, सरकारले बुझ्नु पर्ने । अहिले सुन चाँदी व्यवसायीका देशैभरी भब्य शोरुम खुलेका छन् । सबै कम्प्युटराइज सिष्टम सुरु भएको छ । हरेक दिनको मुल्य सर्वसाधारणले देख्ने गरी डिस्प्ले हुन्छ । सबै कुरा पारदर्शी छ । क्रमश विकास हुँदै गएको छ । लगानी र रोजगारी बढ्दैछ । धेरै हदसम्म अर्थतन्त्रलाई चलायमान बनाएको छ ।