सुन तस्करीका घटनाले व्यवसायी बद्नाम भएका छन् : मणिकरत्न शाक्य
वि.सं.२०८० असोज ८ सोमवार १८:०३
shares

सुन चाँदी व्यवसायीले दुई लाख बढीलाई रोजगारी उपलब्ध गराए पनि सरकारले एउटा निर्देशिका नबनाइदिँदा सुन चाँदी व्यवसायीको हैषियत सून्य भए जस्तो लाग्छ सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई । नेपालको जिडिपीमा पनि सुन चाँदी व्यवसायको हिस्सा छ तर, सरकारी रेकर्डमा सून्य देखिन्छ । सुन चाँदीको लगानीलाई सम्पत्ति सञ्चितीको रुपमा अर्थ्याउने शाक्य कच्चा पदार्थ आयतमा पनि सरकारले कडाई गरेकोमा दुःखी छन् । उनैसंग गरिएको गफगाफ :
सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुँदाका दुख कस्तो छ ?
मुलुकभर रहेका व्यवसायी, यस क्षेत्रका कालिगढलगायत सुन चाँदी व्यवसायसंग जोडिएका सबैका लागि काम गर्नु पर्ने छ । विभिन्न कार्यक्रम गर्दै यस क्षेत्रको विकास र विस्तार कसरी गर्ने भनेर अगाडी बढी रहेका छौं । व्यवसायसंग जोडिएका व्यवसायीका काम गर्न पाउनुलाई मैले अवसरको रुपमा लिएको छु । दुःखको अनुभुति गरेको छैन ।
मैले दुःख यस अर्थमा भनेको । अध्यक्ष भैसकेपछि आफ्नो व्यापार व्यवसाय थाँती राखेर संस्थाका लागि दौडधुप गर्नुपर्छ । संघ संस्थामा लागेपछि तपाईको व्यापार व्यवसायमा असर गरेको छैन ?
हामीले संस्थाको वार्षिक कार्यक्रम बनाएका छौं । यस हिसाबमा म एक्लै दैडिन पर्दैन । टिममा साथीहरु हुनुहुन्छ । कार्यसमितिका सदस्यहरु सबैले आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गरेका हुन्छन् । त्यसकारण त्यस्तो समस्या छैन ।
कतिपय संघसंस्थामा अध्यक्ष महासचिवले काम गर्दा दुख भएको कुरा गर्छन् । यस अर्थमा तपाईहरुलाई सहज छ हो ?
सुन चाँदीको व्यवसाय भनेको एकदमै संवेदनशिल व्यवसाय हो । धेरै लगानी गरेर व्यवसाय गर्नु पर्ने बाध्यता छ । सुन चाँही संसारकै महंगो धातु भएकाले पनि यसको सुरक्षादेखी लिएर काम गर्ने वातावरणमा धेरै कुरा ध्यान दिनु पर्छ । मुलुकभरका व्यवसायीले महासंघलाई आशाको किरणको रुपमा हेरिरहेका छन् । उहाँहरुको आशा भरोसलाई मर्न दिनु हुन्न । हामीले यस क्षेत्रको विकास गर्छौ भनेर आएपछि उपभोक्ता, व्यवसायी, सरकार, कालिगढ सबैलाई समेटेर अगाडी जानु पर्छ । हामीले कुनै विगार गरेका छैनौं त्यसकारण राम्रो काम गर्दा सबैले सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।
व्यवसायीका पनि समस्या त होला नि । समस्या चाँही के छ ?
मुख्य समस्या भनेको निती नियम केही पनि छैन । अहिले पनि परम्परागत रुपमा व्यवसाय चलिरहेको छ । सरकारी निकायले निश्चित ऐन, कानुन, बनाएर यो कानुन अनुसार काम गर्नुस् भनेको छैन । ऐन नहुँदा बजार अन्यौलग्रष्त अवस्थामा चलेको छ । चाँडो भन्दा चाँडो निति नियम बनोस भनिरहेका छौं । अर्को समस्या भनेको कच्चा पदार्थको उपलब्धता । दिनको १० केजी सुन आइरहेको थियो । एक साता अघि मात्रै २० केजी ल्याउने निर्णय भयो । आर्थिक मन्दी र सुनको भाउ पनि अत्याधिक महंगो भएकाले अहिले धेरै नेपाली सुन किन्न सक्ने अवस्थामा छैन । अहिले त दैनिक २० केजीले धान्ला सामान्य अवस्थामा २० केजी सुनले धान्दैन । त्यहि अभाव हुँदा तस्करी लगायतका घटना हुन्छन् । यस विषयमा हामीले सरकारलाई घच्घच्याइरहेका छौं । सरकारको पनि बाध्यता होला । हाम्रो कुरा सुनिरहेको छैन । तैपनि हामी आशावादी छौं । कच्चा पदार्थको अभाव बिना स्थानिय स्तरमा पनि प्रयाप्त रोजगारी दिन सक्दैनौं । अन्तराष्ट्र्रिय बजारमा पनि समस्या पर्छ ।
तपाई अध्यक्ष भएपनि सरकारका प्रतिनिधी कहाँ निर्देशिका चाहियो भन्दै जानु भएको थियो । अहिले के हुँदैछ ?
प्रकृया अघि बढेको छ । निर्देशिका जारी गर्ने सवालमा नजिक नजिक पुगेका छौं । २०७१ सालमा निर्देशिका बनेको थियो त्यो प्रकाशित भएन । त्यसपछि २०७६ सालमा पनि हाम्रो निवर्तमान अध्यक्षले निर्देशिका जारी गर्न निकै पहल गर्नु भयो तर, निर्देशिका जारी भएन । मैले आफ्नो गच्छे अनुसार लागेको छु । यसपाली म एक्लै छैन । हस्तकला महासंघ, रत्न तथा आभुषण महासंघ, सुन चाँदी व्यवसायी महासंघ, तीनवटै महासंघ बसेर संयुक्त रुपमा निति नियम बनाउनका लागि सरकारसंग लबिङ गरिरहेका छौं ।
निर्देशिका बनाउन पनि सरकारले किन जाँगर लगाउदैन र घच्घच्याइरहनु पर्छ । निर्देशिकाले सरकारलाई के कुरामा बेफाइदा हुन्छ ?
निर्देशिका बनेपछि सरकारलाई बेफाइदा हैन फाइदा हुन्छ । तर, कर्मचारीतन्त्रमा एक खालको त्रास छ । मैले यो निर्णय गरें भने भोली अख्तियार लाग्ने हो कि भन्ने त्रासमा छन् । यदि त्यस्तो नहुँदो हो त यस्तो निती बनाउनका लागि ढिला सुस्ती गर्नु पर्ने कारण छैन । निर्देशिका भयो भने राजस्व, रोजगारी सबै कुरामा वृद्धि हुन्छ ।
अर्थतन्त्र सहज भएको बेलामा दैनिक कति किलो सुन खपत हुन्छ ?
अर्थतन्त्र सहज भएको बेला सिजनको बेलामा दैनिक ४० देखि ४५ किलो सुन खपत हुन्छ । अन्य समयमा २० किलो चाहिन्छ कम्तिमा ।
तपाई भन्नु हुन्छ सिजनको बेला दैनिक ४५ किलोसम्म सुन खपत हुन्छ । सरकारले २० किलो तोकेको छ । किन यसो गर्छ सरकार ?
मलाई लाग्छ सरकार अर्थतन्त्रलाई नियन्त्रिण प्रणालीमा राख्ने सोचमा छ । भन्न चाँही हामी खुल्ला अर्थतन्त्र भन्छौं तर, सरकारको व्यवहार हेर्दा नियन्त्रित निती हो कि जस्तो लाग्छ ।
अभावकै कारण हो त सुनमा कालो बजारी भएको हो ?
अभाव भएपछि कालोबजारी, तस्करी धेरै कुरा हुन्छ । त्यसले व्यवसायीको पनि हित हुँदैन । धेरै बिकृति आउँछ । उपभोक्ताको पनि हित हुँदैन । सरकारको त हित हुने कुरै भएन । राजस्व गुम्छ । अहिले एक किलो सुन आयात गर्दा साढे १४ लाख राजस्व सरकारले पाउछ ।
सुन तस्करीको जुन घटनाक्रम सार्वजनिक भैरहेको छ यसले के संकेत गर्छ ?
यो त एकदमै डरालाग्दो कुरा हो । शान्ति क्षेत्र भनिएको मुलुक चाँही तस्करको देश होला भन्ने डर छ । नेपालमा जो वर्षौदेखी सुनको कारोबार गर्दै आएको छ उसले १०० ग्राम सुन किन्नका लागि पनि लाइन बस्नु पर्छ । तस्करीमा संलग्नले एकै दिन किलोका किलो सुन किन्न सक्छन्, यो भनेको मुलुकका लागि निकै भयाबह स्थिती हो ।
यस्ता घटनाले सुनचाँदी व्यवसायी माथी पनि अभियोग त लागेको छ नि ?
सुन तस्करीका घटनाले आम सर्वसाधारणमा कस्तो बुझाई छ भने सिंगै बजार भरि तस्करीको सुन छ भनेर सोच्न थालिसकेका छन् । बजार नै अपराधीहरुले चलाए जस्तो देखिएको छ । सुन चाँदी व्यवसायी बद्नाम भएका छन् । तर, तस्करीमा व्यवसायीको हात छैन ।
नेपालमा सुनका असली ग्राहक चाँही को हुन् ?
अहिले नेपालीहरु नै ५० देखी ६० लाख विदेशमा छन् । जो विदेशमा छन् उनीहरुलाई नेपालप्रतिको झन् बढी माया लाग्दो रहेछ । नेपालको बजारलाई हेर्ने हो भने गरगहनाको सबै भन्दा धेरै माग विदेशमा बस्ने नेपालीहरुबाट आइरहेको छ । विदेशमा बस्नेहरुले न्वारन, पास्नी, विवाह सबैमा नेपाली गरहना नै प्रयोग गर्छन् । हाम्रा व्यवसायीले गहना बनाएर विदेशमा पठाइरहेका छौं तर, दुखको कुरा कति सुन विदेश गयो हामीसंग रेकर्ड छैन । यदि निर्देशिका बनाउने हो भने हामीले कति आयात ग¥यौं कति निर्यात ग¥यौ देखाउन पनि सक्छौं । अर्को दुःखको कुरा हाम्रो जिडीपीमा सुनचाँदी कारोबारको हिस्सा कति छ देखिदै देखिदैन । हामीले त्यही कारण केही समय अघि रिसर्च पनि गरेका थियौं । हाम्रो राजस्वमा कति योगदान छ हामीले उल्लेख गरेका छौं र त्यही अनुरुप सरकारलाई सुझाब पनि दिएका छौं ।
उपभोक्ताले एउटा गुनासो गर्छन् नि महंगो भएको बेला बेच्न गा¥हो सस्तो भएको बेला किन्न ?
बेच्न नपाउने भन्ने त हुँदै हुन्न । मज्जाले बिक्री हुन्छ । भाउ घटेको बेला किन्न नपाएको कुरा चाँही हुन सक्छ । डिमान्ड अनुरुप सप्लाई नहुँदा समस्या परेको छ ।
सुनजस्तै देखिने नक्कली गहनाका पसल पनि प्रसस्तै खुलेको छ नि यसले व्यापारमा असर गरेको छ कि ?
जो मान्छे सुन किन्न चाहन्छ । उ नक्कली गहना भएतीर जाँदै जाँदैन । जसले एक चोटी लगाएर फाल्छ उ त्यतै जान्छ । सुन भनेको गहना मात्रै हैन स्थायी सम्पत्ति पनि हो । पुस्तासंगै हस्तान्तरण हुँदै आउछ । सुन चाँदीको सञ्चय गर्नु भनेको सम्पत्ति संरक्षण गर्नु पनि हो । आर्थिक समृद्धिको बाहक नै सुन हो भनेर परम्परादेखी चलिआएको छ ।
व्यवसायीका समस्या ?
निती छैन । ऐन छैन । सब भन्दा ठूलो समस्या यहि हो । तर, सरकारले बुझ्नु पर्ने । अहिले सुन चाँदी व्यवसायीका देशैभरी भब्य शोरुम खुलेका छन् । सबै कम्प्युटराइज सिष्टम सुरु भएको छ । हरेक दिनको मुल्य सर्वसाधारणले देख्ने गरी डिस्प्ले हुन्छ । सबै कुरा पारदर्शी छ । क्रमश विकास हुँदै गएको छ । लगानी र रोजगारी बढ्दैछ । धेरै हदसम्म अर्थतन्त्रलाई चलायमान बनाएको छ ।















