सार्वजनिक बसमा छुट माग्दा झण्डै कुटाइ खाएका थिए
वि.सं.२०८० असोज १७ बुधवार १४:२४
shares

काठमाडौं १७ असोज । राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री अहिले पनि सडकमा लखर लखर हिँड्दै गरेका भेटिन्छन् । सामान्य लवाई, वर्खामासमा एउटा हातमा छाता टुट्दैन । निजी गाडी छैन । सार्वजनिक बस चढ्छन् । अनुभव सा¥है नमिठो छ । उनको अनुभवले भन्छ ‘पब्लिक यातायात चढ्नेलाई असाध्यै हेप्छन् ।’ घुस्याहा कर्मचारीले जसरी पनि पैसा कमाउन पर्छ भनेर व्यवहार गरे जस्तै सार्वजनिक सवारी चालक सहचालकले पनि जसरी हुन्छ यात्रुसंग असुल्नै पर्ने व्यवहार गरेको अनुभव गरेका छन् । रिटायर्डपछि कहिले काठमाडौं कहिले पोखरा बस्दै आएका पूर्व गर्भनर क्षेत्रीको अनुभवमा काठमाडौंका तुलनामा पोखराका चालक सहचालक असहिष्णु छन् ।
उनीसंग जेष्ठ नागरिक कार्ड छ । कार्ड बोकेर हिँड्छन् । पोखरा बजारमा सार्वजनिक बसमा यात्रा गर्दै थिए । गाडीका सहचालक भाडा उठाउँदै आए । उनले कार्ड देखाए । सहचालकले कार्ड हेर्दै नहेरी भने ‘पोखरामा यो लागु हुँदैन ।’ क्षेत्रीले सोधे ‘किन पोखरा नेपाल भन्दा बाहिरको हो र लागु नहुने । अन्त हुन्छ यहाँ किन नहुने ।’
सहचालकले झर्केर भने ‘म संग भनेर हुँदैन समितिसंग कुरा गर्नुस् ।’ सहचालकले कार्ड मान्दै मानेन पुरै भाडा माग्यो । क्षेत्रीले दिएनन् । चालक र सहचालक मिलेर बिच बाटोमै गाडी रोके र झर भने । पूर्व गभर्नर क्षेत्रीलाई पनि झोक चल्यो ‘समितिको को हो बोलाउनुस् म कुरा गर्छु’ भने । उनले सोचेका थिए समितिका मान्छे समझदार हुन्छन् कुरा बुझ्छन् । स्थिती उनले सोचे भन्दा फरक थियो । समितिका मान्छे भनेको त गुण्डा पो रैछन् । के का कार्डका छुट दिन्थे । तीन चार जना मिलेर कुटौंला झैं गरे । बाल बाल बचेर निस्किए ।
मोबाइलको फोटो डुब्लिकेट
जेष्ठ नागरिक कार्ड हराईरहन्छ । फेरी लिन उत्तिकै झण्झट छ । सोही कारण अचेल उनी कार्डको मोबाइलमा फोटो खिच्छन्, स्क्यानिङ गर्छन् । फोटोकपी पनि बोक्छन् । मोटर चढेपछि सहचालकहरु पैसा माग्दै आउछन् पूर्व गभर्नर फोेटोकपी वा स्क्यानिङ गरेको कार्ड देखाउछन् सहचालकले मान्दैनन् । उल्टै हकार्छन् । साता अघि मात्रै एक सहचालकले थर्काएको प्रसंग सुनाउदै भने ‘मेरो कार्ड हेरर यो त डुब्लिकेट कार्ड हो मान्दिन भन्यो ।’ के को आधारमा डुब्लिकेट भन्यो ? क्षेत्रीको प्रश्न बाँकी नै थियो सहचालकले थर्काउदै भने ‘डुब्लिकेट कार्ड बोकेर ठूलो कुरा गर्ने ?’ फेरि थर्काउदै भने ‘अब देखी मेरो गाडीमा नचढ ।’ ए भाई सार्वजनिक सेवामा यसो भन्न पाउछौ भनेर उनले गरेको प्रश्नको जवाफ दिने सहचालक अहिलेसम्म भेटेका छैनन् । दुव्र्यवहार प्रशस्तै भोगेका छन् । अचेल त उनलाई लाग्न थालेको छ ‘सार्वजनिक बस भनेको यस्तो हो रहेछ ।’ व्यवस्थित गर्नु पर्ने सरकार र स्थानिय सरकारले हो । तिनलाई यस्ता कुरा व्यवस्थित गर्नुपर्छ भन्ने हेक्कै छैन ।
चाहिने भन्दा बढी यात्रु राख्ने, अनावश्यक ठाउँमा रोक्ने, यात्रुलाई थर्काउनेलगायतका बेथिती कति हो कति ? पूर्व गभर्नर क्षेत्री अचेल यस्ता दृष्य देख्छन् भोग्छन् मात्रै । गुनासो गरेर पनि हुने सम्भावना देखेका छैनन् ।
सरकारले नै जग्गा खाइदिएछ
रिटायर्डपछि त जनजीवन सामान्य हुन्छ होला । राष्ट्र बैंकबाट रिटायर्ड हुनु अगाडी उनले सोचेका थिए । कति बस्नु काठमाडौं पुख्र्यौली थात थलो पोखरा फर्किए । बाबु बाजेले जोडेको सम्पत्तिको रक्षा गर्नु मात्रै थिएन । आरामको जिन्दगी जिउनु पनि थियो तर, उनले सोचे जस्तो सहज रहेनछ भन्ने कुरा अहिले बुझ्दैछन् ।
‘१३ रोपनी जग्गा त सरकारले आफ्नो नाममा दर्ता गरेछ । अहिले आएर सरकारविरुद्ध मुद्दा लड्नु परेको छ ।’ उनले भने ‘सरकार आफैंले मिचेपछि छिमेकीले किन छाड्थे ।’ सरकार आफैंले मिचेपछि छेउछाउमा जो थिए तिनले छोड्ने कुरै भएन ।, जो उनको जग्गा नमिची बसेका थिए । तिनले पनि उस्तै रुखो जवाफ दिए ‘तँ कता हराइस् । यता मिच्नेले मिचे ।’
फुर्सद होला र पढौंला भनेर केही किताब जम्मा पारेका थिए । पूर्वप्रधानन्याधिस शुसिला कार्की, उनको श्रीमान र युवराज संग्रौलाले लेखेको किताबको प्लाष्टिक समेत उधार्न नभ्याएको सुनाए । ‘जुन मान्छेको काम छैन त्यो मान्छे अति व्यस्त हुँदो रहेछ ।’
जुत्ताको माला लगाएर बैंक घुमाउने धम्कि
पूर्व गभर्नर क्षेत्री राष्ट्र बैंकमा छँदा कर्मचारी युनियनमा नेतृत्वमा थिए । ०४८ सालतिर अतिवादी विचार राख्नेहरुसंग झण्डै हात हालाहाल भयो । घटना के थियो भने राष्ट्र बैंकले बैंकमा काम गर्ने खातेपिते (खानपिन राम्रो भएको) परिवारबाट आएकालाई सहायकहरुलाई पढ्न पठायो । पास गरेर आएपछि सेकेण्ड क्लास अफिसर भए । त्यसको ६/८ महिनापछि फेरी प्रमोसन भयो । फष्ट क्लास अफिसर भए ।
पूर्व गभर्नर क्षेत्री लगायत युनियनमा आबद्ध कर्मचारीलाई चित्त बुझेन । (खाते–पिते) परिवारका सदस्यलाई बैंकले पनि छप्पर फाँडेर दिइरहेको छ भन्दै विरोध गरे । बैंकले त्यसो गर्दा तलबाट आएर १०÷१२ वर्षदेखी काम गरेकाहरुमा प्रतिकुल प्रभाव परेका थियो । यो प्रवृत्तिको विरोध गर्नुपर्छ भन्दै विरोध एकजना चार्टर एकाउन्टेटहरुसंग कन्फटेशन भयो । त्यति बेला कार्यालय बालुवाटारमा थियो । एकजान चार्टर एकाउन्टेन्टले क्षेत्रीलाई जुत्ताको माला लगाएर बैंक घुमाउने कुरा गरे । ‘यो त अतिवाद भयो हामीले त सबै कर्मचारीका लागि काम गर्नुपर्छ । हामी उनीहरुका पनि प्रतिनिधी हौं । यदि तिमीहरु यसो गर्छौ भने म तिमीहरुकामा संलग्न हुन्न ।’ पछि ति चाटर्डएकाउन्ट लाइनमा आए ।
अर्थमन्त्रीले चाकडी स्वरुप सचिवहरुलाई राष्ट्र बैंकको गाडी टक्र्याउने चलन थियो । बैंक प्रशासन पनि टक्र्याउने कुरामा सहज भएर उभिन्थ्यो । पूर्व गभर्नर क्षेत्रीको टोलीले एकजना कर्मचारीलाई बाटैमा गाडी रोकेर झारे पनि गाडी राष्ट्र बैंकमा दाखिला गरे । गाडी खोसेको घटनाले राष्ट्र बैंकमा राम्रै हल्ली खल्ली भएको थियो । प्रशासनले भन्यो ‘यसरी चढदा चढ्दैको गाडी नखोसेको भए हुन्थ्यो ।’ क्षेत्रीले प्रशासनका हाकिमलाई जवाफ दिए ‘हामीले गरेको भनिदिनुस् तपाई टेन्सन नलिनुस् ।’
शशीनारायण शाह भन्ने अर्का एकजना सचिव थिए । उनलाई भेटेर क्षेत्रीकै टोलीले भन्यो ‘सचिव ज्यु तपाईले चढ्नु भएको लग्जरियस गाडी नेपाल सरकारको होइन । यो राष्ट्र बैंकको हो । तपाइले सेतो प्लेट बनाएर चढिराख्नु भएको छ ।’ ति मान्छे यति इमान्दार रहेछन् क्षेत्रीको टोली बालुवाटार पुग्दा नम्बर प्लेट चेञ्ज गरेर गाडी राष्ट्र बैंक दाखिला भैसकेको रहेछ । उनलाई लाग्छ ‘शशीनारायण शाह जस्तै असल कर्मचारी अझै पनि छन् तर, त्यस्तालाई राम्ररी काम गर्न दिइदैन ।’















