Dhulikhel Eco Banner new

आजदेखि ४८ ठाउँमा सुपथ मूल्य पसल

5.81K
shares

काठमाडौं, २१ भदौ । सरकारले दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै आइतबारदेखि काठमाडौं उपत्यकासहित देशभर ४८ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ ।

४२ जिल्लाका ४८ स्थानमा

खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षमा खाद्यान्न किन्न पाइने छ ।

यस्तै साल्ट्र ट्रेडिङले काठमाडौं उपत्यकाका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ ।

७ देखि १० रुपैयाँ छुट

यस्ता पसलबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो र खाने तेल किन्न पाउने छन् । कर्णालीको सिमी, फापर, र खसीबोका समेत बिक्री वितरण हुनेछन् । यस्ता सामग्रीमा किलो वा लिटरमा ग्राहकले ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् । दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिरमा प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

४२ जिल्लामा खाद्य पसल

काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा पनि सुपथ पसल सञ्चालन हुनेछन् ।

यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा पनि सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ ।