Dhulikhel Eco Banner new

लघुवित्त संस्थामा कर्जा ब्याज दर अब आधार दरसँग आवद्ध गरिने व्यवस्था

3.51K
shares

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकले २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। यो समीक्षा राष्ट्र बैंकको सञ्चालक समितिको बैठकपछि जारी गरिएको हो।

गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षको कार्यकाल अन्तिम चरणमा रहेको अवस्थामा उनले यो समीक्षा सार्वजनिक गरेका हुन्। आगामी चैत महिनाको अन्तिम साता कार्यकाल पूरा गर्ने गभर्नर अधिकारीले यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थ मन्त्रालयमा छलफल गरेर उक्त समिक्षा सार्वजनिक गरेका छन्।

मूल्य वृद्धिको दबावलाई मध्यनजर गर्दै नीतिगत दरलाई बढाउने आवश्यकतामा जोड दिइएको भएता पनि, आर्थिक क्रियाकलापको विस्तारलाई प्राथमिकतामा राखेर मौद्रिक नीतिको लचिलो कार्यदिशा यथावत राखिएको छ। यस अन्तर्गत मौद्रिक नीतिको विद्यमान नीतिगत दर ५ प्रतिशत, ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत र माथिल्लो सीमा ६.५ प्रतिशतमा कायम राखिएको छ।

साथै, आगामी २०८२ जेठदेखि लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था लागू गरिने भएको छ।

त्यसैगरी, व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरिनेछ।

नेपाल राष्ट्र बैंकले असल कर्जा व्यवस्थामा विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १ प्रतिशतमा कायम गर्ने निर्णय पनि गरेको छ।

अन्ततः, नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको सीमालाई १५ प्रतिशतबाट वृद्धि गर्दै २० प्रतिशत कायम गर्ने निर्णय गरिएको छ।

यो मौद्रिक नीति समीक्षा नेपालको समग्र आर्थिक सुधार र दीर्घकालीन स्थिरता सुनिश्चित गर्नको लागि महत्त्वपूर्ण कदम मानिन्छ।