लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको डिष्ट्रिक्ट गभर्नरमा दुर्गा हुमागाईँ निर्वाचित
वि.सं.२०८१ फागुन २७ मंगलवार ११:२८
shares

काठमाडौं, २७ फागुन । पोखराका सञ्चार उद्यमी एवं युवा व्यवसायी दुर्गाप्रसाद हुमागाईं लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको लायन वर्ष २०२५/०२६ का लागि डिस्ट्रिक्ट गभर्नरको पदमा निर्वाचित भएका छन्। शनिवार पोखरामा सम्पन्न तेस्रो एन्जुअल डिष्ट्रिक्ट कन्भेन्सनमा उनलाई यस प्रतिष्ठित पदमा चयन गरिएको हो।
यसै गरी, रमेश अधिकारीलाई फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर र विष्णुहरि फुँयाललाई सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरको पदमा निर्वाचित गरिएको छ।
नवनिर्वाचित गभर्नर दुर्गाप्रसाद हुमागाईं र उनकी पत्नी, डिष्ट्रिक्ट फस्ट लेडी सरिता दाहाल हुमागाईंले डिष्ट्रिक्ट कन्भेन्सनमा आफूलाई गभर्नरको पदमा चयन गर्न सहयोग गर्ने अग्रज लायन लिडर र सम्पूर्ण लायन सदस्यहरूलाई हार्दिक आभार व्यक्त गरे। उनीहरूले आगामी लायन वर्षलाई स्मरणीय र सफल बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
हुमागाईं करिब २० वर्षदेखि लायन्स क्लबसँग जोडिएका छन् र पोखरा पिस चौतारीको पूर्व अध्यक्ष समेत रहेका छन्। काभ्रे जिल्लाका स्थायी निवासी हुमागाईं हाल सफल मिडिया हाउस र बिज लिंक सञ्चालन गर्दै आएका छन् र ‘सफल आवाज अनलाइन’का प्रधान सम्पादक पनि हुन्।
महाधिवेशनमा डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत एक हजारभन्दा बढी लायन सदस्यहरूको सहभागिता रहेको थियो। यस वर्षको महाधिवेशन लायन्स क्लब अफ पोखरा लेक सिटी, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धिको संयुक्त आयोजनामा सम्पन्न भएको हो।



















