तीन निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा
वि.सं.२०८२ जेठ ८ बिहीवार १२:१५
shares

काठमाडौं, ८ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले बिहीवार एक सूचना जारी गर्दै विभिन्न सरकारी निकायहरूको सिफारिसका आधारमा ती कम्पनीहरूलाई निश्चित अवधि लागि कालोसूचीमा राखेको हो।
कालोसूचीमा परेका कम्पनीहरूमा काठमाडौं महानगरपालिका–१४ मा अवस्थित एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी, सल्यानको लेखपोखरा–६ मा रहेको तुलसी निर्माण सेवा र बाँकेको डडुवा गाउँपालिका–५ मा रहेको यज्ञश्वरी निर्माण सेवा छन्।
एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र यसको प्रमुख व्यक्ति अनिल ढुंगाना तथा खेमराज आचार्यलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।
तुलसी निर्माण सेवा र प्रमुख व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। यज्ञश्वरी निर्माण सेवा र प्रमुख व्यक्ति बिना बिसीलाई भने दुई वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।
सार्वजनिक खरिद ऐनअनुसार निर्माण तथा आपूर्तिको ठेक्का लिएर काम नगरेका कम्पनी वा व्यक्तिहरूलाई सम्बन्धित निकायले सिफारिस गरेमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आवश्यक छानबिनपछि कालोसूचीमा राख्ने प्रावधान छ।




















