बुधवारदेखि यातायात व्यवसायीको आन्दोलन थप चर्किदै
वि.सं.२०८२ जेठ २० मंगलवार १८:११
shares

काठमाडौं, २० जेठ । राइड सेयरिङविरुद्ध आन्दोलनरत सार्वजनिक यातायात व्यवसायीले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई वैधानिक मान्यता दिने कानून फिर्ता लिन अस्वीकार गरेपछि आन्दोलनको रूप अझ सशक्त बनाइने सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजयकुमार स्वाँरले प्रेस विज्ञप्तिमार्फत जनाएका हुन्।
सोमबार राति सरकार र यातायात व्यवसायीबीच भएको वार्तामा केही सहमति जुटेको भए पनि प्रदेश सरकारले उक्त कानून स्थगन नगर्ने अडान लिएपछि मंगलबार पनि गण्डकी प्रदेशमा सार्वजनिक यातायात चलेका छैनन् ।
राइड शेयरीङले सर्वसाधरणलाई फाइदा हुने भएपनि यातायात व्यवसायीले भने आफ्नो व्यवसायलाई असर गर्ने भन्दै आन्दोलन थालेका छन् । जसकारण गण्डकीमा पाँचदिनदेखि तथा आइतबारदेखि देशभर सार्वजनिक यातायात सञ्चालन बन्द गराएका छन्।
गण्डकी प्रदेश सरकारलाई दबाब दिन व्यवसायीहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। तर, उनीहरुको आन्दोलनका कारण सर्वसाधारण भने चर्को सास्ती भोगिरहेका छन्।




















