Dhulikhel Eco Banner new

माबिलुङ इनर्जीको पहिलो चरणको आईपीओ खुला

3.46K
shares

काठमाडौं, २२ असार । माबिलुङ इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित स्थानीयबासीलाई लक्षित गर्दै आइतवारदेखि पहिलो चरणको आईपीओ सार्वजनिक गरेको छ । कम्पनीले १८ लाख ९० हजार ५३० कित्ता साधारण शेयर जारी गर्दैछ । जुन ३८ करोड ५८ लाख २५ हजार रुपैयाँ बराबरको जारी पूँजीको ४८.९९ प्रतिशत हो ।

यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीयबासीका लागि र १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८, ९ का स्थायी बासिन्दालाई आयोजना प्रभावितको रूपमा परिभाषित गरिएको छ ।

आयोजनाबाट प्रभावित स्थानीयबासीले साउन ४ गतेदेखि साउन १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दुबै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । माबिलुङ इनर्जीले संखुवासभा जिल्लामा माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजना निर्माण गरेको छ । जसको कुल क्षमता ४.९५ मेगावाट रहेको छ ।

आयोजना निर्माणको प्रति मेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ९५ पैसा र प्रतिशेयर आम्दानी १ रुपैयाँ ५ पैसा रहेको छ । आईपीओमा आवेदन दिने सबै इच्छुक लगानीकर्तालाई तोकिएको समयभित्र आफ्नो आवेदन पेस गर्न कम्पनीले अनुरोध गरेको छ ।