Dhulikhel Eco Banner new

कर्णाली विकास बैंक घोटालामा राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेत पक्राउ

3.5K
shares

काठमाडौं, ३ साउन । कर्णाली विकास बैंकमा करिब ४ अर्ब ९० करोड रुपैयाँ बराबरको अनियमितता भएको प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन्। ६१ वर्षीय बस्नेत सुनसरी स्थायी ठेगाना भएका हुन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

बस्नेतले बैंक गम्भीर समस्यामा फसेको अवस्थामा पनि अनुगमन अधिकृतका रूपमा सबै ठिक भन्ने प्रतिवेदन दिएको आरोप लागेको छ। यसअघि सीआईबीले अनुगमनमा खटिएका राष्ट्र बैंकका कर्मचारीहरूको विवरण माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको थियो। उक्त पत्रपछि राष्ट्र बैंकभित्र तनावको वातावरण सिर्जना भएको थियो। घटनाप्रति नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पनि चासो व्यक्त गरेका थिए।

कर्णाली विकास बैंकमा भएको अनियमितता प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई हालै भारतबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। यस घोटालामा बैंकका पूर्व सीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह लगायतको संलग्नता पनि खुलेको अनुसन्धानमा देखिएको छ।

घोटाला त्यतिबेला बाहिर आएको हो जब बैंकको कोर बैंकिङ प्रणालीमा देखिएको मौज्दात रकम र विभिन्न बैंक खातामा रहेको वास्तविक रकमबीच अन्तर देखियो। अनुसन्धानमा नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई करोडौं रुपैयाँको अपचलन गरिएको पुष्टि भएको छ। आन्तरिक छानबिन समितिको प्रतिवेदनपछि सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो।

हाल प्रहरीले घटनासँग जोडिएका अन्य व्यक्तिहरूको खोजी र थप अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।