आर्थिक वर्ष २०८१/८२ मा निर्यात ८१.८ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ६ प्रतिशतले उकालो
वि.सं.२०८२ भदौ ८ आइतवार १५:०५
shares

काठमाडौं, ८ भदौ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको वस्तु निर्यातमा ऐतिहासिक वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत वर्ष कुल निर्यात ८१.८ प्रतिशतले वृद्धि भई २७७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष निर्यातमा ३ प्रतिशतले गिरावट आएको थियो।
गन्तव्य मुलुकका आधारमा भारततर्फको निर्यात ११७.८ प्रतिशतले, चीनतर्फ १.६ प्रतिशतले र अन्य मुलुकतर्फ ६.७ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत रूपमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, जुत्ता तथा चप्पल आदिको निर्यात उल्लेख्य रूपमा बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, अदुवा र तयारी पोसाकको निर्यातमा कमी आएको छ।
तर, यता निर्यात वृद्धि हुँदाहुँदै पनि कुल वस्तु आयात १३.३ प्रतिशतले बढेर १८०४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष आयातमा १.२ प्रतिशतको गिरावट आएको थियो। भारत, चीन र अन्य मुलुकबाटको आयात क्रमशः ७.५५, १४.२५ र ३१.७५ ले बढेको हो।
यस अवधिमा भटमासको कच्चा तेल, यातायातका उपकरण, चामल, खाने तेल र स्पन्ज आइरनको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, रासायनिक मल, विद्युतीय उपकरणको आयात घटेको छ।
मुख्य भन्सार नाकाहरूको विश्लेषण अनुसार निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, नेपालगञ्ज, कैलाली, मेची र रसुवाबाट निर्यात घटेको छ। आयाततर्फ भने जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका अधिकांश नाकाबाट आयातमा वृद्धि देखिएको छ।
कुल वस्तु व्यापार घाटा ६ प्रतिशतले बढेर १५२७ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो घाटा १ प्रतिशतले घटेको थियो। यद्यपि निर्यात–आयात अनुपात १५.४ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्ष ९.६ प्रतिशत मात्र थियो।
भुक्तानी सन्दर्भमा, भारतबाट रूपैयाँ सट्टाबजारमा परिवर्तनीय विदेशी मुद्रा प्रयोग गरी १८१ अर्ब १५ करोड रुपैयाँको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
बृहत्आर्थिक वर्गीकरण अनुसार, कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६७.७५, मध्यवर्ती वस्तुको ३१.४५ र पुँजीगत वस्तुको ०.९५ रहेको छ। आयाततर्फ क्रमशः ३९.१५, ५१.७५ र ९.२५ रहेको छ।
तर, असार महिनाको अन्तिम विन्दुगत तथ्यांक अनुसार निर्यात मूल्य सूचकांक २.३५ ले घटेको छ भने आयात मूल्य सूचकांक ०।५५ ले बढेको छ। त्यसका कारण व्यापारको सर्त २.८५ ले खस्किएको छ।



















