महँगीदर घटेर ४.०६ प्रतिशतमा सीमित
वि.सं.२०८२ भदौ ८ आइतवार १५:१२
shares

काठमाडौं, ८ भदौ । आर्थिक वर्ष २०८१/८२ मा उपभोक्ता महँगी (मुद्रास्फीति) दर अघिल्लो वर्षको तुलनामा घटेर ४.०६ प्रतिशतमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार, अघिल्लो वर्षमा महँगी दर ५.४४ प्रतिशत रहेको थियो।
२०८२ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.२० प्रतिशत मात्र रहेको छ । २०८१ असारको ३.५७ प्रतिशतको तुलनामा उल्लेखनीय गिरावट हो।
खाद्य तथा पेय पदार्थ समूहमा मूल्यवृद्धि औसतभन्दा धेरै देखिएको छ। तरकारी उप–समूहमा १०.७१ प्रतिशतले, घ्यू तथा तेलमा ८.७२ प्रतिशतले, दाल तथा गेडागुडीमा ७.९० प्रतिशतले र समग्र खाद्य तथा खाद्यजन्य वस्तुमा ६.१३ प्रतिशतले मूल्य बढेको हो।
यद्यपि मरमसला उप–समूहमा २.६२ प्रतिशत र माछा तथा मासुमा ०.३४ प्रतिशतले मूल्य घटेको देखिएको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवामा ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता–चप्पलमा ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ५.६५ प्रतिशत, फर्निचर तथा घरायसी सामग्रीमा ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थमा ४.३७ प्रतिशतले मूल्यवृद्धि देखिएको छ।
तर, यो समूहको समग्र वार्षिक औसत मुद्रास्फीति अघिल्लो वर्षको ४.६४ प्रतिशतबाट घटेर ३.७१ प्रतिशतमा झरेको छ।
२०८२ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको विन्दुगत मुद्रास्फीति भने ४.१२ प्रतिशत पुगेको छ । २०८१ असारको ३.२६ प्रतिशतको तुलनामा केही बढेको हो।



















