Dhulikhel Eco Banner new

राष्ट्र बैंकको कर्जा प्रवाह लक्ष्य असफल, १२.५ प्रतिशतको साटो ८.४ प्रतिशत मात्र कर्जा विस्तार

3.89K
shares

काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा निजी क्षेत्रतर्फको कर्जा प्रवाह लक्ष्य हासिल गर्न असफल भएको छ। राष्ट्र बैंकले कर्जा प्रवाह १२.५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको भए पनि वर्षभरिमा ८.४ प्रतिशत मात्र कर्जा प्रवाह भएको छ। मौद्रिक नीतिअनुसार करिब ६ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह हुनुपर्नेमा ४ खर्ब २३ अर्ब ७३ करोड रुपैयाँ मात्र कर्जा विस्तार भएको हो। वित्तीय प्रणालीमा प्रशस्त तरलता र घट्दो ब्याजदरको अवस्था रहे पनि पुँजीकोषमा परेको दबाबका कारण बैंक तथा वित्तीय संस्थाहरू नयाँ कर्जा लगानी गर्न सकेनन्।

गत वर्ष निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये ६२.८ प्रतिशत कर्जा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ र ३७.२ प्रतिशत कर्जा व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको छ। अघिल्लो वर्ष यो अनुपात क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत थियो। वाणिज्य बैंकहरूले ८.६ प्रतिशत, विकास बैंकहरूले ६.१ प्रतिशत र वित्त कम्पनीहरूले ८.४ प्रतिशतले कर्जा प्रवाह गरेका छन्। २०८२ असार मसान्तसम्म कर्जा लगानीमध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १४।५ प्रतिशत चालु सम्पत्ति .कृषि तथा गैर–कृषिजन्य वस्तु को धितोमा प्रवाह भएको छ।

क्षेत्रगत रूपमा औद्योगिक उत्पादन क्षेत्रमा ७.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १५.५ प्रतिशत, सेवा उद्योग क्षेत्रमा १२.८ प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रमा ३.४ प्रतिशत कर्जा प्रवाह भएको छ। तर कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ। आवधिक कर्जा ७.१ प्रतिशत, रियल स्टेट कर्जा ५.९ प्रतिशत, मार्जिन कर्जा ५६.२ प्रतिशत, ट्रष्ट रिसिट कर्जा ५१.१ प्रतिशत, हायर पर्चेज कर्जा ३.७ प्रतिशत र डिमान्ड तथा चालु पुँजी कर्जा १३.२ प्रतिशतले बढेका छन् भने ओभरड्राफ्ट कर्जा १०.४ प्रतिशतले घटेको छ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ८ खर्ब ११ अर्ब ४९ करोड रुपैयाँले वृद्धि भएको छ, जुन १२.६ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष यो वृद्धि १३ प्रतिशतको दरमा ७ खर्ब ४२ अर्ब ३७ करोड रुपैयाँ थियो। २०८२ असार मसान्तसम्म कुल निक्षेपमा चल्ती निक्षेप ७.१ प्रतिशत, बचत निक्षेप ३६.८ प्रतिशत र मुद्दती निक्षेप ४८.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ५.८, ३०.३ र ५६.४ प्रतिशत थिए। संस्थागत निक्षेपको अंश अघिल्लो वर्ष ३६.२ प्रतिशत रहेकामा यो वर्ष ३६.१ प्रतिशतमा झरेको छ।