नेपाल राष्ट्र बैंकले २४६ खर्ब बढी तरलता प्रशोचन
वि.सं.२०८२ भदौ ८ आइतवार १५:२२
shares

काठमाडौं, ८ भदौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा वित्तीय प्रणालीबाट कुल २४६ खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित दरमा कर्जा प्रवाह गर्न नसकेको कारण प्रणालीमा रहेको अत्यधिक तरलता केन्द्रीय बैंकले खिचेको हो। यो रकम स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमार्फत प्रशोचन गरिएको हो।
राष्ट्र बैंकका अनुसार स्थायी निक्षेप सुविधाबाट २१५ खर्ब ८ अर्ब ४० करोड र निक्षेप संकलन बोलकबोलबाट ३१ खर्ब ४२ अर्ब ९५ करोड तरलता खिचिएको हो। साथै, ओभरनाइट तरलता सुविधामार्फत बैंकहरूले २ अर्ब ७० करोड रुपैयाँ उपयोग गरेका छन्। यसरी समीक्षा अवधिमा खुद तरलता प्रशोचन २४६ खर्ब ४८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा राष्ट्र बैंकले कुल ३८ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ बराबरको तरलता मात्र खिचेको थियो। तर यो वर्ष राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी बनाउन प्रयास गर्दा मात्र करिब १० अर्ब रुपैयाँ बराबर खर्च गर्नुपरेको छ। ब्याजदरको तल्लो सिमाभन्दा कम जान नदिने नीति कार्यान्वयन गर्दा यस्तो घाटा व्यहोर्नुपरेको हो।
राष्ट्र बैंकले तरलता प्रशोचन गर्न प्रयोग गरेका उपकरणहरूमा औसत ३ प्रतिशत ब्याजदर प्रदान गरिएको थियो, जुन चालु आर्थिक वर्षमा घटेर २।७५ प्रतिशतमा झारिएको छ। चालु वर्षको सुरुवातदेखि मात्रै निक्षेप संकलनमार्फत राष्ट्र बैंकले साढे ३ खर्ब रुपैयाँभन्दा बढी तरलता खिचिसकेको छ।
यसबाहेक, समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारमार्फत वाणिज्य बैंकहरूसँग अमेरिकी डलर ५ अर्ब ८३ करोड खुद खरिद गरी ७ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको तरलता प्रणालीमा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो संख्या डलर ५ अर्ब ८९ करोडको खरिद र ७ खर्ब ८३ अर्ब ४७ करोडको तरलता प्रवाह रहेको थियो।
राष्ट्र बैंकले तरलता सन्तुलन र ब्याजदरको अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न आवश्यक परेको बेला प्रणालीमा पैसा पठाउने र खिच्ने अभ्यासलाई निरन्तरता दिँदै आएको छ। प्रणालीमा पैसा पठाउँदा ब्याज आम्दानी हुने भए पनि खिच्दा भने राष्ट्र बैंकलाई खर्च ब्यहोर्नु पर्ने अवस्था रहेको छ।



















