Dhulikhel Eco Banner new

रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

3.28K
shares

काठमाडौं, २३ भदौ। रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

रोहिणीले शनिबार ललितपुरको हिमालयन होटलमा एक कार्यक्रममाझ रविन्द्रलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । रोहिणीले रविन्द्रलाई एक वर्षका निम्ति ब्रान्ड एम्बेसडर सम्झौता गरेको छ । तर, आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रोहिणीले आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्दता व्यक्त गरेको छ । ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा रोहिणीका मार्केटिंग डाइरेक्टर दया थापा र रविन्द्रले हस्ताक्षर गरे ।

‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्रले एमएमएका कुल १० खेलमध्ये नौ खेलमा जित निकालेका छन् । उनले केही महिनाअघिमात्रै भारतको नोएडामा भएको एमएफएन १७ मा बान्टमवेटमा भारतकै नम्बर वान चुंग्रेन कोरेनलाई हराउँदै उपाधि जितेका थिए ।

सम्झौतापछि रोहिणीले आफ्नो यात्रामा साथ दिने प्रतिवद्दता व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे ।
मैले जति फाइट खेल्न सिके त्यती बोल्न सिकेको छैन । मलाई साथ दिनुभएकोमा रोहितणीलाई धन्यवाद । जुन दिन मैले प्रशिक्षकलाई भेटे, त्यसपछि मेरो लाइफ परिवर्तन भयो । हाम्रो आगामी यात्रामा साथ दिने प्रतिबद्दता व्यक्त गर्नुभएकोमा रोहिणीलाई धेरै धेरै धन्यवाद,’ रविन्द्रले भने ।

यस्तै, रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापाले पनि रविन्द्रसँग सहकार्य गर्न पाउनु हर्ष र गौरवको कुरा भएको बताए । ‘उहाँले गरेको फाइट देशको लागि हो । यो हाम्रो लागि गर्व र खुशीको कुरा हो । रविन्द्रजस्तो व्यक्तित्वलाई ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा निक्कै हर्षित छौँ । हामीबीचको यो सहकार्यलाई निरन्तरता दिनेमा पनि प्रतिवद्दता व्यक्त गर्न चाहन्छुँ,’ मार्केटिङ डाइरेक्टर थापाले भने ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्स संघ इक्यान
का अध्यक्ष शेष राज भट्टराईले पानसमा बत्ति बालेर कार्यक्रमको सुरुआत गरेका थिए । उनले रोहिणी र रविन्द्र दुवैलाई सम्झौताका निम्ति बधाई दिए ।

भट्टराईले भने, ‘रोहिणी एक असाधारण इतिहास बोकेको संस्था हो । यही संस्थाबाट नेपालकै चर्चित खेलकुद फिगर रविन्द्र ढाट आज ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त भएका छन् । यसमा दुवै पक्षलाई बधाई दिन चाहन्छु । रविन्द्रले जे भिजन राख्नुभएको छ, त्यसका निम्ति उहाँलाई बधाई भन्न चाहन्छु । भारतमा उहाँको जितले समग्र नेपाललाई गौरवान्वित बनाएको छ । म उहाँले अझ धेरै उपाधिहरु जितुन भन्ने चाहन्छु । हामी एजुकेसन कन्सलटेन्सी सानो र मझौला संस्था हो । तर, यीनै संस्थाहरुले नेपालको नाम उच्च राख्ने खेलाडीहरुलाई ब्रान्ड एम्बेसडर राखेर उहाँको हौसलालाई अझ माथि लैजान भूमिका खेलिरहनु भएको छ । यही मार्गमा रोहिणी पनि आएको छ । रविन्द्रजीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्नुभएकोमा तपाईहरुलाई धन्यवाद र बधाई भन्न चाहन्छु उनले भने ।

कार्यक्रममा रोहिणीका कार्यकारी निर्देशक श्याम भण्डारीले रविन्द्रलाई नेपालको झन्डा ओढाउँदै सम्मान गरेका थिए । निर्देशक भण्डारीले रविन्द्र नेपालमा बन्दै गरेको हिरा भएको र आगामी दिनमा उनी अझ चम्किलो बन्ने विश्वास व्यक्त गरे ।

‘रविन्द्र नेपालबाट बन्दै गरेको हिरा हो । जुन आगामी दिनमा निक्कै चम्किलो हुनेछ भन्ने मेरो विश्वास छ । मलाई तपाईले आगामी दिनमा यूएफसीका सबै प्रतियोगिताको उपाधि जित्नु हुनेछ भन्ने आशा लिएको छुँ । रविन्द्रको उपलब्धी उसले आफैमा गरेको विश्वासको परिणाम हो । उनको उपलब्धीले असम्भवतामा पनि सपना देख्न र त्यसलाई पाउन सकिन्छ भन्ने देखाएको छ । रविन्द्र चाहना भए जस्तोसुकै सपना पूरा गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् । म रविन्द्रलाई सबैभन्दा धेरै आवश्यक रहेको समयमा साथमा रहेका प्रशिक्षक दिविज पिया लामालाई पनि सम्मान व्यक्त गर्न चाहन्छु । म रविन्द्रको उदाहरण दिँदै नेपालका युवाहरुलाई सपना देख्नुस् भन्न चाहन्छु ।’
कार्यक्रममा रविन्द्रसँगै उनका मेन्टर दिविज पिया लामाको पनि उपस्थिती थियो । दिविजले आफूहरुले एमएमए फाइट सुरु गर्दा यसरी कुनै संस्थाको ब्रान्ड एम्बेसडर बन्छौँ भन्नेसम्म नसोचेको बताए ।

‘हामीले यो यात्रा सुरु गर्दा हामी कुनै दिन देशकै रोल मोडल, कुनै संस्थाको ब्रान्ड एम्बेसडर बन्छौँ भन्नेसम्म सोचेकै थिएनौँ । मैले रविन्द्रलाई भेटेपछि सामान्य कुराहरुलाई मात्रै पछ्याउँदै फाइटमा अघि बढौँ भन्ने कुरा भएको थियो । त्यसबेला कुनै पनि नेपाली कसरी एमएमए फाइटर बन्न सक्छन् भन्ने कुनै ब्लुप्रिन्ट थिएन । नेपाली खेलकुदकै इतिहासमा रविन्द्र जसरी सपना पछ्यारहेको उदहारण निक्कै कम छ । बझांगको सामान्य केटोलाई सहयोग गर्न अघि आउनु भएकोमा म रोहिणीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मेरो उदेश्य अबको १० वर्षमा अरु एक हजार रविन्द्र बनाउनु हो ।’

रोहिणीको बारेमा

रोहिणी इन्टरनेशनल एजुकेशन सर्भिसेज नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वृद्धि र अवसर प्रदान गर्न समर्पित संस्था हो । शिक्षा, मार्गदर्शन र सामुदायिक पहलमार्फत रोहिणीले नयाँ पुस्तालाई उत्कृष्टता हाशिल गर्न र नेपाललाई विश्वमञ्चमा गर्वका साथ प्रतिनिधित्व गर्न निरन्तर प्रेरित गर्दै आएको छ ।