Dhulikhel Eco Banner new

जेनजीको प्रदर्शनमा संसद् भवनको दुई गेटमा आगजनी, प्रहरीद्वारा तत्काल नियन्त्रण

2.76K
shares

काठमाडौं, २३ भदौ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको गेट नम्बर १ र २ मा गरिएको आगजनी प्रहरीले तत्काल निभाएको छ।

प्रदर्शनकारीहरूले संसद् भवनको दुई मुख्य प्रवेशद्वारमा आगजनी गरेपछि सुरक्षाकर्मीहरू खटिएर आगो नियन्त्रणमा लिएका हुन्। आगजनीबाट भवनको संरचनामा केही क्षति भएको भए पनि ठूलो क्षति हुन नपुगेको प्रहरीले जनाएको छ।

हाल नयाँ बानेश्वर क्षेत्रको अवस्था अत्यन्तै तनावपूर्ण रहेको छ। प्रदर्शनकारीहरू सडकमा उत्रिएर सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

केही प्रदर्शनकारी संसद् भवनभित्र समेत प्रवेश गरेका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् भने स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ।

कर्फ्यू जारी भए पनि बानेश्वर क्षेत्र तनावग्रस्त नै छ। प्रहरीले झडप र क्षतिबाट जोगिन सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको छ।