Dhulikhel Eco Banner new

जेन–जी आन्दोलनः घाइतेको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

2.81K
shares

काठमाडौं, २३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा भर्ना गरिएका घाइतेहरूलाई कुनै शुल्क नलाग्ने गरी सम्पूर्ण उपचार सुविधा उपलब्ध गराउन निर्देशन दिएका हुन्। उनले मानवअधिकार र स्वास्थ्य पहुँचलाई ध्यानमा राख्दै अस्पताल प्रशासनहरूलाई तत्काल प्रभावकारी व्यवस्था मिलाउन भनेका छन्।

मन्त्रालयले काठमाडौं उपत्यकामा एम्बुलेन्स सेवा अझ प्रभावकारी बनाउन समेत निर्देशन दिएको छ। घाइते र आपतकालीन अवस्था भएका बिरामीहरूलाई सहजै अस्पताल पुर्‍याउने तथा एक अस्पतालबाट अर्कोमा स्थानान्तरण गर्न एम्बुलेन्स सञ्जाललाई सक्रिय बनाउन भनिएको छ।

उपत्यकाभित्रको समन्वय र सहजीकरणका लागि मन्त्रालयले सबै अस्पताल र स्वास्थ्य निकायहरूलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।