शान्तिपूर्ण प्रदर्शनमाथि दमनको विरोधमा कृषि मन्त्री रामनाथ अधिकारीको राजीनामा
वि.सं.२०८२ भदौ २४ मंगलवार १०:५८
shares

काठमाडौं, २४ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबार बिहान आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले सरकारमा बसिरहनु अब आफ्ना लागि नैतिक रूपमा असम्भव भएको स्पष्ट पारेका छन्।
मन्त्री अधिकारीले मुलुकभित्र फैलिएको भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथि भएको नियन्त्रण र जेनजी आन्दोलनका क्रममा स(साना बालबालिकामाथि भएको दमन र हत्याको गम्भीर विरोध जनाउँदै पद त्याग गरेका हुन्।
उनले लेखेका छन्, ‘लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो भन्ने मान्यता विपरीत व्यापक रूपमा दमन, हत्या र बल प्रयोग भएको देख्दा हामी लोकतन्त्रतर्फ होइन, तानाशाही व्यवस्थातर्फ उन्मुख भइरहेका छौं भन्ने आशंका पैदा भएको छ।’
अधिकारीले सरकारमा बसिरहनु आफ्नै नैतिकता, चेतना र राजनीतिमा प्रवेश गराउँदा पार्टीले दिएको शिक्षा विपरीत हुने उल्लेख गरेका छन्। ‘साना छोराछोरीहरूको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल बनाइराख्दा सरकारमा निरन्तर बस्न मलाई मेरो ब्रह्मले चेतावनी दिएको छ,उनले भनेका छन्।
राजीनामाको अन्त्यमा मन्त्री अधिकारीले स्पष्ट रूपमा लेखे, ‘सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै, देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु।’



















