Dhulikhel Eco Banner new

आर्थिक संकट समाधानमा निजी क्षेत्रको सक्रिय भूमिकाको आवश्यकता रहेको छः अर्थमन्त्री खनाल

3.78K
shares

काठमाडौं, ५ असोज । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अहिलेको आर्थिक संकट समाधानमा निजी क्षेत्रको सक्रिय भूमिकाको आवश्यकता रहेको बताएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा असामान्य परिस्थितिमा विशेष कदम आवश्यक हुने भन्दै यस्तो बताएका हुन् ।

उनले वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै व्यवहारिक र कार्यान्वयन योग्य योजना ल्याइने समेत जानकारी गराएका छन्। मुलुकको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रबाट प्राप्त सुझावलाई आधार बनाएर चाँडै सुधारात्मक प्याकेज घोषणा गरिने उनको भनाई छ ।

निजी क्षेत्रबाट आएका सबै सुझावलाई समेटेर सुधारात्मक प्याकेज बनाइएको छ। सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश भइसकेको छ मन्त्री खनालले भने। असामान्य परिस्थितिमा विशेष कदम आवश्यक हुने भन्दै उनले अहिलेको आर्थिक संकट समाधानमा निजी क्षेत्रको सक्रिय भूमिकाको आवश्यकता औंल्याए।

सरकारको हालको छ महिनाको कार्यकाललाई केवल निर्वाचनमा सीमित नराखी आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिन चाहेको समेत उनले बताए। सरकारले दीर्घकालीन कानुनहरू ल्याउने छैन। निर्वाचनसम्मका लागि अध्यादेशमार्फत काम अघि बढाइनेछ। प्रक्रिया जटिल भएको खण्डमा आवश्यक संशोधन गरिनेछ उनले स्पष्ट पारे।

साथै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको मुख्य म्यान्डेट भएको उल्लेख गर्दै उनले सरकारी सेवा प्रवाहमा समस्या देखिएमा कडाभन्दा कडा कारबाही हुने चेतावनी पनि दिए।