Dhulikhel Eco Banner new

नेप्सेद्धारा कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन

2.76K
shares

काठमाडौं, ७ असोज । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन निर्देशन दिएको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) अनुसार तोकिएको म्यादभित्र शुल्क बुझाउनुपर्ने प्रावधान उल्लेख गर्दै नेप्सेले अझै शुल्क नबुझाएका कम्पनीहरूलाई समयमै शुल्क बुझाउन आग्रह गरेको हो।

नेप्सेका अनुसार चुक्ता पूँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीहरूले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क बुझाउनुपर्नेछ। त्यस्तै ५० करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूको हकमा शुल्क १ लाख रुपैयाँ निर्धारण गरिएको छ।

डिबेञ्चर र म्युचुअल फन्ड सम्बन्धी धितोपत्रमा भने चुक्ता पूँजी ५० करोडसम्म भएमा २५ हजार र ५० करोडभन्दा बढी भएमा ५० हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने व्यवस्था गरिएको छ।

शुल्क बुझाउन ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्सेको Nepse Operating Account नम्बर ०७५०१०१००००७७५ मा रकम जम्मा गर्नुपर्नेछ। साथै, सो रकम भुक्तानी गरिएको बैंक भौचरको प्रति [email protected] मा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

नेप्सेले तोकिएको समयसम्म शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने चेतावनीसमेत दिएको छ। साथै, धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम शुल्क नबुझाउने कम्पनीहरूको सूचीकरण स्थगन गर्न सकिने प्रावधानसमेत लागू गरिने उल्लेख गरिएको छ।