Dhulikhel Eco Banner new

चौधरी ग्रुपद्वारा जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने प्रतिबद्धता

3.87K
shares

काठमाडौं, २२ असोज । चौधरी ग्रुपले जेनजी आन्दोलनका शहिदप्रति श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदना अर्पण गर्दै शहीद परिवारलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ।

चौधरी ग्रुपले आन्दोलनको क्रममा आफ्ना निजी निवास, कार्यालय, शोरूम तथा उद्योगहरूमा भएको ठूलो क्षति र तोडफोडले गहिरो पीडा पुगेको उल्लेख गर्दै पनि कम्पनी दृढ आत्मबलसहित पुनःनिर्माणको यात्रामा अघि बढिरहेको जनाएको छ।

यस्तो कठिन समयलाई सकारात्मक दिशातर्फ मोड्न र आन्दोलनका शहीदहरूप्रति सम्मान प्रकट गर्न चौधरी ग्रुपले शहीद भएका प्रत्येक व्यक्तिका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।

सूचनामा भनिएको छ, “यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, र यो देशको उज्यालो भविष्य निर्माण गर्नेछौँ।”

ग्रुपले सबै शहीद परिवारहरूलाई प्रत्यक्ष सम्पर्क गर्दै जानकारी गराउने प्रक्रिया सुरु भइसकेको जनाएको छ। साथै, थप जानकारी वा सहजीकरणका लागि इच्छुक परिवारजनले चौधरी ग्रुपको कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।