सामाजिक सुरक्षा भत्ता अब डिजिटल प्रणालीबाट, बायोमेट्रिक अनिवार्य
वि.सं.२०८२ असोज २३ बिहीवार १७:१२
shares

काठमाडौं, २३ असोज । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ स्वीकृत भएसँगै २०७७ को पुरानो कार्यविधि खारेज गरिएको छ।
नयाँ कार्यविधिअनुसार अब लाभग्राहीहरूले अनलाइनमार्फत सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदनका लागि राष्ट्रिय परिचयपत्रमा आधारित विवरण अनिवार्य गरिएको छ।
बायोमेट्रिक प्रमाणीकरण प्रणाली लागू गरिएको छ, जसले दोहोरो भत्ता लिने वा नक्कली लाभग्राहीको सम्भावना हटाउने अपेक्षा गरिएको छ।
बायोमेट्रिक लागू भएका स्थानीय तहहरूमा बसोबास गर्ने नागरिकले आफू बसोबास गरेको ठाउँबाटै अनलाइन आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनहरू सम्बन्धित वडा कार्यालयमार्फत प्रमाणीकरण गरिनेछ।
१६ वर्ष मुनिका बालबालिका, अशक्त र ९० वर्ष माथिका वृद्ध नागरिकहरूका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य नहुन सक्ने व्यवस्था गरिएको छ।लाभग्राहीको विवरण प्रणालीमा प्रविष्ट भएपछि उनलाई १३ अंकको सामाजिक सुरक्षा परिचयपत्र नम्बर प्रदान गरिनेछ।
नयाँ कार्यविधिअनुसार चालु आर्थिक वर्षमा सबै लाभग्राहीले निवेदन दिनुपर्नेछ। बायोमेट्रिक प्रमाणीकरण भएका जिल्लामा मोबाइल एपमार्फत पनि नवीकरण गर्न सकिने सुविधा दिइएको छ।



















