नेपालमा महँगीदर घट्दै, भदौमा १.८७ प्रतिशतमा सीमित
वि.सं.२०८२ असोज २८ मंगलवार १७:२३
shares

काठमाडौं, २८ असोज । आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौमा नेपालमा वार्षिक विन्दुगत उपभोक्ता महँगीदर १.८७ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष सोही महिनामा महँगीदर ३.८६ प्रतिशत थियो।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा महँगी ऋणात्मक रहेको छ । यो समूहको महँगीदर –१.३४ प्रतिशत मापन गरिएको छ। तर गैर–खाद्य तथा सेवा समूहमा भने महँगी ३.७० प्रतिशत पुगेको छ।
घ्यू तथा तेल, गैर(मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा महँगा भएका छन्। त्यसैगरी, तरकारी, मरमसला र दाल–गेडागुडी सस्ता भएका छन्, जसले समग्र खाद्य महँगीलाई घटाएको हो।
गैर(खाद्य समूहमा विविध सेवा तथा वस्तु, शिक्षा, कपडा, जुत्ता, सुर्तीजन्य वस्तु, र घरायसी सामानको महँगी उल्लेखनीय रूपमा बढेको छ। बीमा तथा वित्तीय सेवामा भने सामान्य गिरावट आएको छ।
सहरी क्षेत्रमा महँगीदर १.९१ प्रतिशत र ग्रामीण क्षेत्रमा १.७३ प्रतिशत रहेको छ। प्रदेशमध्ये सबैभन्दा धेरै महँगीदर कोशी प्रदेशमा २.९९ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशमा मात्र ०.८८ प्रतिशत महँगी देखिएको छ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा २.२१ प्रतिशत, हिमाली क्षेत्रमा २.५१ प्रतिशत, तराईमा १.७० प्रतिशत र पहाडमा १.६८ प्रतिशत महँगी मापन गरिएको छ।
थोक महँगीदरको हिसाबले पनि भदौ महिनामा थोक मूल्य २.१० प्रतिशतले मात्र बढेको छ, जुन अघिल्लो वर्षको २.७५ प्रतिशतभन्दा कम हो। उपभोग्य वस्तुको थोक महँगी ४.२१ प्रतिशत, पुँजीगत वस्तुको २.३५ प्रतिशत र मध्यवर्ती वस्तुको ०.८३ प्रतिशत रहेको छ। निर्माण सामग्रीको मूल्य पनि ४.१८ प्रतिशतले बढेको छ।
नेपालको भदौ महिनाको महँगीदर १.८७ प्रतिशत रहेको बेला भारतमा सेप्टेम्बर महिनामा महँगी १.५४ प्रतिशत मात्र रहेको छ।



















