Dhulikhel Eco Banner new

दुई महिनामा निर्यातमा उच्च वृद्धि, व्यापार घाटा अझै बढ्दो

4.13K
shares

काठमाडौं, २८ असोज । दुई महिनामा नेपालको वस्तु निर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ५.१ प्रतिशतले गिरावट आएको थियो।

गन्तव्य मुलुकका आधारमा भारततर्फको निर्यात १३९.९ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको निर्यातमा ०.४ प्रतिशतको वृद्धि भएको छ। चीनतर्फको निर्यात भने ५८.५ प्रतिशतले घटेको छ।

वस्तुगत रूपमा हेर्दा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची र चाउचाउ जस्ता वस्तुको निर्यातमा वृद्धि भएको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र पिना जस्ता वस्तुको निर्यातमा कमी आएको छ।

त्यस्तै, सोही अवधिमा वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई ३०५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा आयात १.१ प्रतिशतले मात्र बढेको थियो।

भारत, चीन र अन्य मुलुकबाट आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले बढेको छ।

भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन, हवाइजहाज स्पेयर पार्ट्स र दूरसञ्चार उपकरणको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन र लसुनको आयातमा गिरावट आएको छ।

यो अवधिमा नेपालको कुल व्यापार घाटा ८.६ प्रतिशतले बढेर २५७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १।८ प्रतिशतले मात्र बढेको थियो।

निर्यात र आयातको अनुपात १५.५ प्रतिशत पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ९.६ प्रतिशत मात्र थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी गरिएको आयात २७ अर्ब ७५ करोड रुपैयाँ बराबरको रहेको छ, जुन अघिल्लो वर्षको २९ अर्ब ९३ करोडभन्दा कम हो।

बृहत् आर्थिक वर्गीकरणअनुसार भएको निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.३ प्रतिशत, मध्यवर्ती वस्तुको २९.९ प्रतिशत र पुँजीगत वस्तुको ०.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः ४५.६ प्रतिशत, ५३.२ प्रतिशत र १.२ प्रतिशत रहेका थिए।

त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ३६।८ प्रतिशत, मध्यवर्तीको ५४।३ प्रतिशत र पुँजीगत वस्तुको ८।९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपातहरू क्रमशः ४१.८ प्रतिशत, ४९.७ प्रतिशत र ८.५ प्रतिशत थिए।

२०८२ सालको भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यात मूल्य सूचकाङ्क १.३ प्रतिशतले घटेको छ भने आयात मूल्य सूचकाङ्क ०.२ प्रतिशतले बढेको छ। सो अवधिमा व्यापारको सर्त १.५२ प्रतिशतले घटेको देखिएको छ।