Dhulikhel Eco Banner new

एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा खोजीबाट ‘आइकनिक खेलाडी’ चयन गर्दै

3.28K
shares

काठमाडौं, १३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले आगामी संस्करणका लागि तीन जना उत्कृष्ट युवा खेलाडी छनोट गर्न प्रतिभा खोजी कार्यक्रम आयोजना गर्ने भएको छ।

जिल्ला क्रिकेट संघ बाँके, नेपालगन्जको सहकार्यमा हुने उक्त कार्यक्रम कार्तिक १३ गते बिहीबार बाँकेस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालन हुने छ। कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमबाट तीन जना उत्कृष्ट युवा खेलाडीहरू चयन गरिने छन्। तीमध्ये एक जनालाई मुख्य टोलीमा राखिने छ भने दुई जनालाई विकास टोलीमा समावेश गरिने लुम्बिनी लायन्सले जनाएको छ। चयन भएका खेलाडीहरूलाई आगामी मंसिर १ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने अवसर दिइनेछ। लुम्बिनी लायन्सले यसअघि नै लिगको दोस्रो संस्करणका लागि छ जना प्रमुख खेलाडीलाई कायम (रिटेन) गरिसकेको छ।

यस प्रतिभा खोजी कार्यक्रमले नेपाली क्रिकेटमा नयाँ अनुहारहरूलाई अवसर दिलाउने र देशको क्रिकेटको स्तर उकास्ने विश्वास लिइएको छ । कार्यक्रममा लुम्बिनी लायन्सकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे, क्रिकेट संघ नेपाल (क्यान) का पदाधिकारीहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।