माछापुच्छ्रे बैंकको नाफामा गिरावट, अन्य सूचक कस्तो ?
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ११:४२
shares

काठमाडौं, २१ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनामा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आवको यसै अवधिसम्म कमाएको खुद नाफा ५० करोड ३२ लाख रुपैयाँको तुलनामा यस वर्ष १६.९५ प्रतिशतले घटेको हो।
बैंकको सञ्चालन नाफा ९९ करोड ९८ लाख रुपैयाँबाट ४०.१५ प्रतिशतको गिरावट सहित ५९ करोड ८४ लाख रुपैयाँमा झरेको छ। यता खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.१३ प्रतिशत कायम भएको छ। बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष १।६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँमा झरेको छ।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६.६६ रुपैयाँबाट घटेर १३.८३ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५४.६० रुपैयाँ कायम भएको छ। बैंकले १ खर्ब ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेर १ खर्ब ९३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ६ करोड ५६ लाख रुपैयाँबाट घटेर ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक भएको छ।
चुक्ता पूँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको यस बैंकको शेयर प्रिमियम ३ करोड रुपैयाँ र रिजर्भ कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ सञ्चिति छ भने जगेडा कोषमा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक छ।



















