Dhulikhel Eco Banner new

लक्ष्मी सनराइज क्यापिटलको १५औं वार्षिक साधारण सभा सम्पन्न, १५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

2.7K
shares

काठमाडौं, २१ कात्तिक । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंस्थित लक्ष्मी कम्प्लेक्स, हात्तीसारमा सम्पन्न गरेको छ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरण पारित गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम लेखा परीक्षक एन।बी।एस।एम एण्ड एशोसिएट्सलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ।

सभाले आषाढ मसान्त २०८२ को वासलात अनुसार कम्पनीको प्रति शेयर आम्दानी १८.२० रहेको र वितरण योग्य आम्दानी १७.८३ प्रतिशत मध्येबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत, अर्थात् ७.७२ करोड कर सहित बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

नेपालको पूँजी बजारमा करिब तीन दशकभन्दा बढी समयदेखि सक्रिय यस कम्पनीले देशमा पहिलो पटक शेयर निष्काशन, मर्चेन्ट बैंकिङ तथा सामूहिक लगानी कोष सम्बन्धी कार्यको सुरुवात गरेको हो।

हाल कम्पनीले करिब ६ अर्ब रुपैयाँ बराबरका पाँचवटा बन्दमुखी म्युचुअल फण्ड र एकवटा खुलामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आएको छ। सबै म्युचुअल फण्डहरूले आर्थिक वर्ष २०८१/८२ मा दोहोरो अंकको प्रतिफल वितरण गर्न सफल भएका छन्।

त्यसैगरी, कम्पनीले विशिष्टीकृत लगानी कोष अन्तर्गत एक अर्ब रुपैयाँ पुँजी भएको “लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड” संचालन गर्दै दिगो ऊर्जाका क्षेत्रहरूमा लगानी गर्ने उद्देश्य राखेको छ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले अपरेटिङ प्रिन्सिपल फर इम्प्याक्ट म्यानेजमेन्टमा हस्ताक्षर गर्ने नेपालकै पहिलो संस्था बनेको छ। यो विश्वव्यापी संस्थागत पहल हो, जसले सामाजिक र वातावरणीय प्रभावसहितको लगानीलाई पारदर्शी, अनुशासित र विश्वसनीय बनाउने लक्ष्य राख्दछ।