प्रिमियर मिडिल इयर्स विद्यार्थीको आविष्कार क्षमता अन्वेषण
वि.सं.२०८२ मंसिर ९ मंगलवार १२:५८
shares

काठमाडौं, ९ मंसिर । प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्युम स्कुलमा आयोजित अन्वेषण एमवाईपी स्टिम प्रदर्शनी २०२५ ले कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनामार्फत उनीहरूको जिज्ञासा, सिर्जनशीलता र प्रविधि प्रयोग क्षमताको प्रभावशाली प्रस्तुति गर्यो। साधारण तथा जटिल मेसिन, ऊर्जा रूपान्तरण र प्रणालीसम्बन्धी अवधारणामा आधारित अनुसन्धान र प्रयोगहरूले विद्यार्थीहरू वास्तविक समस्याको समाधानतर्फ कसरी उन्मुख छन् भन्ने स्पष्ट देखियो।
प्रदर्शनीमा विद्यार्थीहरूले स्वतः सञ्चालन हुने साधनदेखि दिगो प्रविधिसम्मका विविध नमुना कार्यहरू प्रस्तुत गरे। जसमध्ये स्वचालित पानी झार्ने यन्त्र, हाइड्रोलिक ब्रेक प्रणाली, पायजोइलेक्ट्रिक प्लेट प्रयोग गरिएको गुरुत्वाकर्षण आधारित बिजुली उत्पादन मोडेल, हातका चालले चल्ने कृतिम हात, विपद् अवस्थामा टाढाबाट नियन्त्रण गर्न मिल्ने सानो गाडी, स्मार्ट सडकबत्ती, तथा नवीकरणीय ऊर्जामा आधारित मोडेलहरू विशेष आकर्षण बने। शिक्षकहरूको मार्गदर्शनमा विद्यार्थीहरूले अनुसन्धान, योजना, निर्माण, परीक्षण र सुधारका चरणहरू पूरा गर्दै कक्षामा सिकेका सिद्धान्तलाई व्यवहारिक रुपमा उतारे।
यस कार्यक्रममा विद्यार्थीहरूले ३–आयामिक नमुना बनाउन सिक्ने, विद्युतीय तारजोड र उपकरण बनाउन जान्ने, साना उपकरणका लागि निर्देशनहरू लेख्ने तथा कार्यशाला सुरक्षाबारे बुझ्नेजस्ता महत्वपूर्ण सीपहरू अभ्याश गर्ने अवसर पाए। साथै, योजना बनाउने, समूहमा काम गर्ने, समस्या पहिचान र समाधान गर्ने, पटक–पटक सुधार गर्दै कामलाई परिपूर्ण बनाउनेजस्ता जीवनभर उपयोगी रहने सीपहरू पनि उनीहरूले अभ्यास गरे। चुनौती आए पनि निरन्तर सुधार गर्दै अघि बढ्ने उनीहरूको अनुशासन र लगनशीलताले प्रिमियरमा अपनाइएको अनुभव–आधारित, विद्यार्थी केन्द्रित शिक्षण पद्धतिलाई अझ प्रस्ट प्रतिनिधित्व गर्यो।
कार्यक्रमका प्रमुख अतिथि, हिप्को इन्फ्रा का निर्देशक तथा द लीफ रिसोर्ट एण्ड स्पाका संस्थापक हितेश गोल्छाले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र प्रविधिको प्रभावकारी प्रयोग देखेर अत्यन्त प्रसन्नता व्यक्त गरे। उमेरले साना भए पनि विद्यार्थीहरूले तयार पारेका परियोजनाको स्तर असाधारण रहेको उनको भनाइ थियो। उनले उत्कृष्ट परियोजना बनाउने समूहलाई लेगो उपहार प्याक प्रदान गरी हौसला बढाए।
अन्वेषणस् एमवाईपी स्टिम प्रदर्शनी २०२५ ले प्रिमियरले दीर्घकालदेखि अपनाउँदै आएको अनुभव आधारित र खोज मुखी शिक्षण पद्धतिलाई पुनः सशक्त रूपमा प्रस्तुत गर्यो। विद्यार्थीलाई आफ्ना विचारहरूलाई वास्तविक कार्यमा परिणत गर्न, नमुना निर्माण गर्न, परीक्षण सुधार गर्दै आत्मविश्वासका साथ प्रस्तुत गर्न प्रेरित गर्नु नै भविष्यका आविष्कारक र समस्या समाधानकर्ताहरू तयार पार्ने मार्ग हो भन्ने कुरा यस प्रदर्शनीले पुन पुष्टि गर्यो।



















