नेपालको वित्तीय क्षेत्रमा सहकार्यको आह्वान
वि.सं.२०८२ मंसिर २४ बुधवार १२:४०
shares

काठमाडौं, २४ मंसिर । बदलिँदो आर्थिक परिवेशमा नेपालको वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौती, ट्रेड युनियनको भूमिका तथा आगामी दिनका कार्यदिशाबारे केन्द्रित ऐतिहासिक सामाजिक संवाद कार्यक्रम एल्लो पगोडा होटलमा सम्पन्न भएको छ।
कार्यक्रम संघका अध्यक्ष पदमराज रेज्मीको सभापतित्व र नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैंक, बीमा, लघुवित्त, नियामक संस्था तथा विभिन्न ट्रेड युनियन प्रतिनिधिहरूसहित ८० भन्दा बढी सहभागी उपस्थित थिए।
कार्यक्रममा श्रम विज्ञ युवराज बस्नेतले डिजिटल परिवर्तनले ल्याएका नयाँ अवसर र जोखिम, सुशासनका चुनौती तथा नयाँ श्रम मोडलका आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्दै ट्रेड युनियनहरू अब ‘सहभागी साझेदार’का भूमिकामा उभिनुपर्ने सुझाव दिएका थिए।
पछिल्लो सत्रमा भएको प्यानल छलफल युएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले संयोजन गरेका थिए। छलफलमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवर, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल देव सुवेदी, श्रम मन्त्रालयका उप सचिव गगन सिंह बिष्ट, नबिल बैंकका सीईओ मनोज कुमार ज्ञवाली, र डिएलए नेपालका केन्द्रीय सदस्य अधिवक्ता दामोदर सहभागी थिए।
वक्ताहरूले वित्तीय क्षेत्रले अहिले सामना गरिरहेको दबाब, नीतिगत सुधारका आवश्यकता, श्रमिक नियोक्ता सम्बन्ध विस्तार गर्नुपर्ने अनिवार्यता तथा समावेशी र दिगो आर्थिक प्रणाली निर्माणका रणनीतिबारे महत्वपूर्ण धारणा राखेका थिए।

















