Dhulikhel Eco Banner new

साल्ट ट्रेडिङले तोरीको तेल उत्पादन गर्ने, दशैँ अघि नै बजारमा आउने

5.92K
shares

काठमाडौं, २७ भदौ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । कर्पोरेसनको ६० औँ वर्ष उत्सब कार्यक्रममा कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले दशैँ अघि देखि नै तोरीको तेल नेपाली बजारमा ल्याउने बताएका हन् ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत वढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने विभागीय प्रबन्धक झाले बताए । कर्पोरेशनले अहिले आयोडिनयुक्त नून, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङगरी बजारमा पठाउने गरेको छ ।

वार्षिक उत्वस कार्यक्रममा कर्पोरेसनको आर्थिक अवस्थाका बारेमा समेत जानकारी दिइएको थियो । कर्पोरेसनले आर्थिक वर्ष २०७३/७४ मा ८ अर्ब ५८ करोडको वस्तु बिक्री गरेको जनाएको छ । त्यस्तै आव २०७४/७५ मा ९ अर्ब ६८ करोड, आव २०७५/७६ मा ८ अर्ब २५ करोड, आव २०७६/७७ मा ९ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७/७८ मा १० अर्ब ३९ करोडको वस्तु बिक्री भएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोवार बढ्दै गएको उनको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधारगर्दै लगेको उनले बताए । कर्पोरेशनले आव २०७७/७८ मा मात्रै ५ करोड ३३ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङलाई नमूना संस्था बनाउने उद्देश्यका साथ काम गरिरहेको बताइन । आफ्नो सेवालाई थप प्रभावकारी बनाउन योजनाबद्ध हिसावले देशरभका डिलरमार्फत उपभोक्ताको माझमा पुगिरहेको उनको भनाइ छ ।

सरकार र निजी क्षेत्रको सहभागितामा सञ्चालित कर्पोरेशन सोमबारदेखि ६० औँ वर्षमा प्रवेश गरेको छ । विसं २०२० भदौ २७ गते सरकारले कर्पोरेशनको स्थापना गरेको थियो । तत्कालीन समयमा जनतालाई सहजरुपमा नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै लगेको छ ।