‘केरामा रोग देखिएकाे क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु पर्छ’
वि.सं.२०८० भदौ १२ मंगलवार १७:४८
shares

काठमाडौं, १२ भदाै । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले पनामा रोगको नयाँ प्रजाति टिआर ४ व्यवस्थापन गर्न आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक परे रोग देखिएका क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने बताएका छन् ।
पनामा रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा मंगलबार सरोकारवालाबीच छलफल कार्यक्रममा मन्त्री चाैधरीले कृषकहरूलाई बिमामार्फत् या स्थानीय सरकार मार्फत् क्षतिपूर्ति या अन्य उपाय को अवलम्बन गर्न सकिने बताए ।
कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालय, कृषि ज्ञान केन्द्र कैलाली र बर्दिया, सुदूरपश्चिम विश्वविद्यालय कृषि संकाय, रानीजमरा कुलेरिया सिचाइँ आयोजना सहभागी थिए । कृषि अनुसन्धान निर्देशनालय दिपायल, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, इलाका प्रशासन कार्यालय, जोशीपुर र जानकी गाउँपालिका, टिकापुर र लम्कीचुहा नगरपालिकाका प्रतिनिधि, कैलालीका केरा खेती गर्ने कृषकको सहभागिता रहेको उक्त कार्यक्रममा केराको पनामा रोगको नयाँ प्रजाति टि आर ४ को सुरक्षित व्यवस्थापनबारे अन्तरकृया गरिएकाे थियाे।
कार्यक्रममा प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र का प्रमुख प्रकाश पौडेलले कार्यक्रम आयोजना गर्नुको उद्देश्य र यो रोग व्यवस्थापनका कानूनी र क्वारेन्टिनका पक्षबारे जानकारी दिए ।
यसैगरि राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काले यो रोगको उत्पत्ति, प्रसार र व्यवस्थापनबारे बिस्तृत जानकारी दिए ।
पनामाको टि आर ४ को जोखिम विश्लेषण कार्यदलका सदस्य देवराज अधिकारीले कार्यदलको कार्ययोजना र प्रस्तावित आचारसंहिता प्रस्तुत गरेका थिए ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यस्ता महामारीबाट बालीनालीलाई जोगाउन नियमनको तहमा प्रदेश सरकार र कार्यान्वयनको तहमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुनु पर्ने भन्दै कृषकहरूले सबै निकायसँग समन्वयमा रही रोग व्यवस्थापन गर्नुपर्ने बताए ।
टिकापुर, जानकी, जोशीपुर र लम्कीचुहाका स्थानीय सरकारका प्रतिनिधिहरूले सबैपक्षसँग सहकार्य गरी रोग व्यवस्थापन गर्न तत्पर रहने बताए ।
कार्यक्रमकै सिलसिलामा किसानलाई तत्काल दिन सकिने सल्लाह र थप सर्भे गर्नेबारे कृषिसँग सम्बन्धित संस्थाहरूबीच छुट्टै प्राविधिक छलफल हुनुको साथै कार्यदलले केराका बगैँचाहरूको स्थलगत अवलोकन समेत गरेको थियो । रानीजमरा सिचाइ आयोजना कैलालीका प्रमुख कलशराम चौधरीको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन दिलिपजंग रानाले गरेका थिए । सरकारले यसअघि नै यो रोगको जोखिम विश्लेषण र सर्वेक्षण गर्न नार्कका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिसकेको छ ।



















