Dhulikhel Eco Banner new

विदेशमा एक लाखकाे जागिर छाडेर नेपालमा च्याउ खेती

11.28K
shares
काठमाडौं,  १९ भदौ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन  ।
युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए । ‘अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो’, पौडेलले भने, ‘चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।’
विसं २०७६ मा काठमाडौँको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका  छन् । अहिले ४५ च्याउ घर छन् । दुई रोपनीमा ग्रिन हाउस छ ।
पौडेल भन्छन्, ‘१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक रु ७५ हजार भाडामा लिएको छु, च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ ।’ अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ, एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ ।
सदर प्रतिकिलो रु एक सय २० मा बिक्री गर्दा वार्षिक रु एक करोड ४४ लाखको करोबार हुने उनको अनुभव छ । जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले २५ लाखमा गाडी किनेका छन । तीनजना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी पनि दिएका छन् ।
जाडो मौसममा तीन किलो र गर्र्मी मौसममा दुई किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ । च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका रु ३२ मजदुरले पाउँछन् । यसरी काम गर्दा एक मजदुरले सरदर रु एक हजार दैनिक पाँउछन् ।