विदेशी पर्यटकबाट २२ अर्ब ४५ करोड आम्दानी, विदेश घुम्नमै ७७ अर्ब ४६ करोड खर्च
वि.सं.२०७९ जेठ ३० सोमवार १५:२८
shares

काठमाडौं, ३० जेठ । चालू आर्थिक वर्षको १० महिनामा विदेशी पर्यटकबाट नेपाल भित्रएको भन्दा धेरै रकम नेपालीले विदेश घुम्नमा खर्च गरेका छन् । चालू आर्थिक वर्षको १० महिनामा विदेशी पर्यटकबाट २२ अर्ब ४५ करोड रुपैयाँ आम्दानी हुँदा ७७ अर्ब ४६ करोड रुपैयाँ नेपालीहरुले विदेश घुम्न गएर खर्च गरेका हुन् ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालले पयर्टन क्षेत्रबाट भित्र्याएको रकमभन्दा नेपालीले विदेश घुम्दा गरेको खर्च ४९ करोड ६२ अर्ब रुपैयाँ बढी छ । कोरोनाको असर कम हुँदै गएपछि घुम्नका लागि विदेश जाने नेपालीको संख्यामा समेत वृद्धि भएको छ ।
जसले गर्दा नेपालबाट बारिरिने रकम समेत बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमाभन्दा चालू आर्थिक वर्षको १० महिनाको अवधिमा १४९ प्रतिशत बढी रकम विदेश घुम्नमा खर्च भएको देखिएको छ ।
कोरोना सुरु भएको आर्थिक वर्ष २०७६/०७७ मा ५३ अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो भने गत आर्थिक वर्षमा ३२ अर्ब ८० करोड रुपैयाँ नेपालीले विदेश घुम्नमा खर्च गरेका थिए । कोरोनाका कारण विभिन्न देशमा लाग्दै आएको प्रतिबन्ध खुल्ला हुँदै जाँदा चालू आर्थिक वर्षमा पर्यटकका रुपमा देश बाहिर जाने रकममा उल्लेख्य मात्रामा वृद्धि भएको देखिएको छ ।
चालू आर्थिक वर्ष सकिनका लागि अझै दुई महिना बाँकि रहेको छ । यो अवस्थामा विदेश घुम्न जाँदा हुने खर्च पाँच वर्ष यताकै सबैभन्दा धेरै हुने उच्च हुने देखिएको छ । तर यो वर्ष विदेशी पर्यटकको संख्यामा भइरहेको बृद्धिले नेपालले पर्यटन क्षेत्रबाट कमाउने रकम गत आर्थिक वर्षकोे १० महिनाको तुलनामा २५९ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्ष नेपालले पर्यटन क्षेत्रबाट ७ अर्ब २६ करोड रुपैयाँ कमाएको थियो । चालु आर्थिक वर्षको १० महिनामा पर्यटन क्षेत्रबाट २२ अर्ब ४५ करोड रुपैयाँ आम्दानी भएको छ । कोरोना महामारी शुरु भएको वर्ष २०७६/७७ मा भने नेपालले पर्यटन क्षेत्रबाट ६० अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी आर्थिक वर्ष २०७४÷७५ मा ७५ अर्ब ३७ करोड रुपैयाँ थियो । जुन पर्यटन क्षेत्रबाट अहिलेसम्म कमाएको सबैभन्दा धेरै रकम हो















