डिडीसी : दुग्ध किसानको पीडा सुनियो, दैनिक एक करोड रुपैयाँ किसानको खातामा
समस्या फेरि नदोहोरियोस् भन्नका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय
वि.सं.२०८३ जेठ १२ मंगलवार ०८:५३
shares

काठमाडौं । महिनौंसम्म दूध दिए पनि पैसा नपाएर घर चलाउन मुस्किल परेका दुग्ध किसानका लागि अब केही सास फेर्ने ठाउँ बनेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) भित्र सुधारको कार्ययोजना लागू गरेपछि अहिले दैनिक एक करोड रुपैयाँ किसानको खातामा पुग्न थालेको छ ।
चार महिनाको लामो प्रतीक्षापछि जम्मा भएको करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये हालसम्म १२ करोड रुपैयाँ फिर्ता भइसकेको छ । एक महिनाको थप रकम आगामी असार १३ गतेभित्र नै किसानको हातमा पुर्याउने तयारीमा मन्त्रालय जुटेको छ ।
बाँकी रहेको करिब ४६ करोड रुपैयाँ भने एकैपटक होइन, आगामी दुई महिनाभित्र बिस्तारै चरणबद्ध रूपमा भुक्तानी हुनेछ । मन्त्री चौधरीका अनुसार दैनिक कारोबार र भुक्तानीको लय अहिले नियमित भइसकेको छ, त्यसैले बाँकी रकम पनि समयमै किसानकहाँ पुग्नेछ ।
पैसा नआउँदा पनि गाईभैंसी पालेर दूध दिइरहने किसानको मेहनतको कदर गर्दै उनीहरूको हितलाई सर्वोच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । यस्तो समस्या फेरि नदोहोरियोस् भन्नका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको पनि मन्त्रालयको भनाइ छ ।
















