Dhulikhel Eco Banner new

स्वीस बैंकमा नेपालीको बचत घट्दै, अघिल्लो वर्षको तुलनामा ९ अर्बले कमी

4.8K
shares

काठमाडौं, २१ असार । स्वीस बैंकमा नेपालीहरुको बचत अघिल्लो वर्षको तुलनामा घटेको छ । शंकास्पद धन लुकाउनको लागि चर्चित रहेको स्वीस बैंकमा नेपालीहरुको बचत ७ करोड स्वीस फ्र्यान्कले घटेको हो । यो करिब ९ अर्ब नेपाली रुपैयाभन्दा बढी हुन्छ ।

स्वीस नेकनल बैंकको वार्षिक प्रतिवेदन अनुसार सन् २०२० मा ३६ करोड ८ लाख स्वीस फ्र्यान्क अर्थात ४८ अर्ब ४३ कराड नेपाली रुपैयाँ स्वीस बैंकमा रहेको थियो । यो बचत सन् २०२१ म २९ करोड ८० लाख अर्थात ३९ अर्ब १६ करोड नेपाली रुपैयाँ रहेको स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ मा उल्लेख गरिएको छ ।

सन् २०२० मा स्वीस बैंकमा नेपालीहरुले जम्मा गरेको रकम अहिलेसम्मकै उच्च हो । सन् २०१९ को तुलनामा सन् २०२० मा मौज्जात रकम दोब्बर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१९ मा १७ करोड ५८ लाख स्वीस फ्र्यान्क नेपालीहरुको स्वीस बैंकमा रहेका थिए । स्वीस बैंकले बचतकर्ताको गोपनियता राख्ने भएको हुँदा कसले पैसा जम्मा गरेको र कसले झिकेको हो त्यसको जानकारी हुँदैन ।

नेपालीहरुले द्धन्द्ध सुरु भएको २०५२ सालदेखि स्वीस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ । १९९६ देखि २०२१ सम्म नेपालीले स्वीस ब्यांकमा तीन अर्ब १८ करोड ९३ लाख स्वीस फ्र्यान्क (४ खर्ब नेपाली रुपैयाँ) राखेको देखिन्छ ।