आर्थिक वर्षको अन्त्यमा सहज बन्दै तरलता, औसत सीडी रेसियो सीमाभित्रै झर्यो
वि.सं.२०७९ असार २१ मंगलवार १०:००
shares

काठमाडौं, २१ असार । बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य रकम (तरलता) आर्थिक वर्षको अन्त्यमा आइपुग्दा सहज देखिएको छ । वर्षको अन्तिम महिना असारको तेस्रो सातामा २७ वाणिज्य बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा तल नै झरेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले सीडी रेसियो ९० प्रतिशत कायम गर्नु पर्ने हुन्छ । तर कोरोनाको त्रास कम भएसँगै बैंकहरुको सीडी रेसियो औसतमा नै ९० प्रतिशत भन्दा धेरै देखिएको थियो । असार पहिलो सातासम्म पनि बैंकहरुको औसत सीडी रेसियो ९२ प्रतिशत हाराहारीमा थियो । अझ कतिपय बैंकहरुको सीडी रेसियो त एकसय सम्म नै पुगेको थियो ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघका अनुसार अहिले औसत सीडी रेसियो अहिले ८८ प्रतिशत रहेको छ । यद्यपि, केही बैंकको भने अहिले पनि सीडी रेसियो सीमा भन्दा माथि रहेको संघलजे बताएको छ ।
आर्थिक वर्षको अन्त्यमा बैंकहरुले कर्जा लगानी कम गर्छन् । उता सरकारले गर्नु पर्ने विकास खर्च पनि बढेकाले बैंकमा निक्षेप बढेको छ । जसको असर बैंकहरुमा तरलता समस्या सहज बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाको निक्षेप एकै दिन ९ अर्बले बढेर ५० खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।














