एकैदिन करिब दुई सय व्यक्ति तथा संस्था कालोसूचीमा
वि.सं.२०७९ असार २६ आइतवार १०:५५
shares

काठमाडौं, २६ असार । शुक्रबार एकै दिन करिब २ सय व्यक्ति तथा उद्योगहरु कालो सूचीमा परेका छन् । कर्जा सूचना केन्द्र (सीआईबी) को तथ्यांक अनुसार शुक्रबार मात्रै १८१ संस्था तथा व्यक्तिलाई कालोसूचीमा राखिएको हो ।
तथ्यांक अनुसार विभिन्न उद्योग तथा व्यक्तिहरु गरेर शुक्रबार मात्रै १८१ जना कालो सूचीमा परेको देखिएको छ । सीआईबीको तथ्यांक अनुसार चालू आर्थिक वर्षको अन्तिम महिना असारको २४ गतेसम्म २ हजार ८२ उद्योग तथा व्यक्तिहरु कालोसूचीमा परेका छन् । तथ्यांक अनुसार चालू आर्थिक वर्षको हालसम्म १४ हजार २६१ उद्योग तथा व्यक्तिहरु कालोसूचीमा परेका छन् ।
ऋण लिएर भुक्तानी नगर्ने तथा चेक बाउन्स गर्नेहरुलाई पनि सीआईबीले बैंक तथा वित्तीय संस्थाहरुको आग्रहमा कालोसूचीमा राख्ने गरेको छ । सीआईबीले आर्थिक वर्ष २०४६/०४७ देखि कालोसूचीमा पर्नेको नाम सार्वजनिक गर्दै आएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०४६/०४७ देखि हालसम्म २९ हजार ३९० व्यक्ति तथा संस्थाहरु कालोसूचीमा परेका छन् ।















